Accessibility Options


Skip to Navigation Skip to Content
A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.

शारीरिक पुनःस्थापना परिवारबाटै किन ?

देवकला पराजुली


Debakala Parajuli

अपाङ्गता रहर वा इच्छा होइन । यो बाध्यता हो र यथार्थ हो । कुनै जात, धर्म, लिङ्ग वा क्षेत्रविशेष भनेर यो तोकिएको हुँदैन । जसलाई पर्‍यो पर्‍यो, सार्न वा साट्न मिल्दैन तर बाड्न भने सकिन्छ । अनुभूति गर्न सकिन्छ र सेवा, सुविधा र पहुँचमा अवसर दिन सकिन्छ । अथवा, दया र कृपाभन्दा केही माथि उठेर अवसरका रूपमा परिणत गर्न भने पक्कै सकिन्छ । त्यसका लागि परिवार, समाज र राष्ट्रनिर्माणमा जुट्ने व्यक्ति एवं सङ्घ संस्थाहरू सबैको महत्वपूर्ण भूमिका रहन्छ ।

एउटा बालक जब जन्मन्छ, उसलाई हुर्कन, बढ्न, पढ्न र आफ्नो लक्ष्यमा अगाडि बढ्न घर-परिवार, समाज र राष्ट्रको प्रत्यक्ष भूमिका रहेको हुन्छ । कसैको प्रत्यक्ष त कसैको कुनै फरक तरिकाले नदेखिने भूमिका पनि हुन सक्छ । तर, व्यक्ति आफैंमा एक्लै कहिल्यै आत्मनिर्भर हुन सक्दैन । अथवा, उसलाई कुनै न कुनै किसिमको सहयोग कुनै न कुनै व्यक्ति वा समुदाय/समूहले गरिरहनु वा दिइ रहनु पर्ने हुन्छ । त्यसैगरी एउटा अपाङ्गता भएको बालक/व्यक्तिले आत्मनिर्भर हुन उसको अपाङ्गताको प्रकृति अनुसार फरक फरक परिवेशको सामना गरेर अगाडि बढ्नु परिरहेको हुन्छ । त्यसैगरी पुनःस्थापनाको पनि आवश्यकता परिरहन्छ ।

आफू नमरी स्वर्ग देखिन्न भने झैँ आफूलाई नपरी हाम्रो परिवार र समाजले अपाङ्गताका बारेमा बुझ्ने प्रयाससम्म पनि गरेको हुँदैन । जब आफूलाई पर्छ अनि आत्तिनुको विकल्प हाम्रा अगाडि केही हुँदैन । २२ वर्ष अघि जुम्लाको सिञ्‍जा भन्ने ठाउँमा जन्मिएका कृष्ण बुढा थापा जन्मजात नै अपाङ्गता भएका व्यक्ति होइनन् । चार मध्येका जेठा उनी रहरका सन्तान हुन् । छोरालाई पढाएर असल व्यक्ति बनाउनुपर्छ भन्ने उनको परिवारको मान्यता थियो । कक्षा ६ मा पढ्दा विद्यालयमा खेल्दै गर्दा उनको दायाँ खुट्टाको बुढी औंलामा सानो घाउ लाग्यो । उपचारपछि घाउ सञ्‍चो त भयो तर केही दिनमा फेरि बल्झियो । पटक पटक उपचार गर्दा पनि सञ्‍चो हुने र फेरी बल्झिने क्रम चलिनै रह्‍यो । अन्त्यमा उनी जुम्ला नेपालगञ्जहुँदै काठमाडौंमा रहेको शिक्षण अस्पतालमा पुगे ।

डाक्टरले २०७१ साल असारमा दायाँ खुट्टाको घुँडाभन्दा तलको भाग काटेर फाल्नु पर्ने बताएपछि भने उनको हंसले ठाउँ छाड्यो । अब साङ्ग र सबल जिन्दगी अपाङ्ग बन्ने भयो भन्ने त्रासले उनलाई निकै नै सताउन थाल्यो । तर, मर्नुभन्दा त जसरी पनि बाच्नु पर्‍यो भनी खुट्टा काटेर उनी बाँचे । बैशाखीको सहायतामा हिँड्नु परेको दिन उनको जिन्दगीकै सबैभन्दा नरमाइलो दिन भयो रे उनलाई । परिवारको लागि समेत त्यस्तै भएछ । जन्मँदा साङ्ग जन्मिएको, राम्रोसँग हिंडेको र किशोर अवस्था पार गरेपछि एउटा युवाले अचानक अपाङ्गता भोग्नु परेकोमा साह्रै चिन्तित हुन्थे रे । आफ्नो हिँड्ने खुट्टा नै नभएपछि अब जुम्लाको आफ्नो गाउँ कसरी जाने, के गरेर खाने जस्ता कुराले ज्यादै सताएछ उनलाई । यस्तैमा कतैबाट कृष्णले राष्ट्रिय अपाङ्ग कोषले काठमडौंको भृकुटीमण्डपमा शारीरिक पुनःस्थापना केन्द्र सञ्चालन गरेको र त्यहाँ कृत्रिम खुट्टा राख्न पाइन्छ भन्ने थाहा पाएछन् ।

पुनःस्थापना केन्द्रमा पहिलो पटक आउँदा उनी आशा कम निराशा बढी लिएर आएका थिए । भर्खरै काटिएको खुट्टा, बैशाखीमा समेत राम्रोसँग हिड्न नसकेको अवस्थामा यी युवा पुनःस्थापना केन्द्रमा बस्न थाले । एक महिनासम्मको कृत्रिम खुट्टासहितको (Gait training ) हिड्ने सिकाइपछि उनी राम्रोसँग हिड्न सक्ने भएर गए । यसबीच अपाङ्गता र यसका बारेमा आफूले थुप्रै सिकेको उनी बताउँछन् । आफ्नो बाल्यकाल र किशोर अवस्थामा कहिल्यै यो अवस्था आउला भनेर नसोचेका यी २२ वर्षे युवक अबको जिन्दगी कृत्रिम खुट्टा लगाएर गाउँमै केही गर्ने अठोटका साथ पुनःस्थापना केन्द्रबाट बाहिरिए । यसबीच उनी थुप्रै कुरा सिकेर आत्मबल बढेको अवस्थामा देखिए।

जुम्लामै रहेको क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्ययन गर्दै गरेका उनले अब गाउँ गएर कसरी हिड्ने, बस्ने अनि आफ्नो कृत्रिम खुट्टालाई कसरी सम्भार गर्ने भन्ने त सिके नै तर भित्र मनमा थोरै संकोच पनि पालेका छन् । कृष्णले लगाएका कृत्रिम खुट्टा प्रत्येक २/३ वर्षमा बदल्नु पर्ने र मर्मत गर्नुपर्ने हुन्छ । उनी पहाडी बाटोमा हिँड्ने हुँदा ती अझ चाँडै बिग्रन पनि सक्छन् । मर्मतका लागि उनले जुम्लाबाट कि नेपालगञ्ज कि त काठमाडौंमै आउनु पर्ने बाध्यता छ । त्यसका कारण उनले व्यर्थमा विभिन्न झञ्झटहरू बेहोर्नु पर्ने निश्चितै छ ।

२०६८ सालको जनगणना अनुसार नेपालमा कूल अपाङ्गता भएका व्यक्तिमध्ये ३६ प्रतिशत शारीरिक अपाङ्गता भएका वा दैनिक जीवनयापनका लागि कुनै न कुनै प्रकारका सहायक सामग्री प्रयोग गर्नु पर्ने अवस्थाका व्यक्ति रहेका छन् । यसलाई हेर्दा क्षेत्र, अञ्चल वा जिल्ला तहमा एउटा शारीरिक पुनःस्थापना केन्द्र (सहायक सामग्री उत्पादन तथा मर्मत केन्द्र) हुने हो भने अधिकंश शारीरिक अपाङ्गता भएका व्यक्तिहरूले बिनाकठिनाइ आत्मनिर्भर बन्न सक्ने थिए । प्रयोग गर्ने सामग्री र अवसरको अभावमा अपाङ्गता भएका व्यक्तिहरू सीप र क्षमता हुँदाहुँदै पनि परनिर्भर बन्नुपरिरहेको यथार्थ हाम्रासामु छ । आशा गरौं कुनै दिन प्रत्येक व्यक्तिले प्रयोग गर्नुपर्ने सामग्री सहज तरिकाले पाउने अवस्थाको सिर्जना हुनेछ ।

Krihsna Budha Thapa doing treatment in Rehabilitation Center, Bhrijutmandap
पुनर्स्थापना केन्द्र, भृकुटीमण्डपमा उपचारका क्रममा कृष्ण बुढा थापा।

अहिले अपाङ्गता भएका व्यक्तिहरूको पहुँचको कुरा गर्दा सार्वजनिकस्थल र भवन निर्माणको कुरा उठाइने गरेको छ । तर, सबैभन्दा बढी समय विताउनुपर्ने घरभित्रै प्रत्येक संरचना अपाङ्गमैत्री बनाउनुपर्ने आवश्यकता छ । हामी जुन समाजमा बसेका छौ, त्यो अनुकूल सधैँ जिउने प्रयास गर्छौं तर आफू अनुकूल समाज त के परिवारलाई पनि परिवर्तन गर्न सक्दैनौँ । हामी पलेँटी नकसी वा टुसुक्क नबसी पनि त आफ्नो दैनिकी चलाउन सजिलै सक्छौँ । एउटा आधुनिक चर्पी घरमा भयो भने साङ्ग र अपाङ्गता भएका दुवैखाले व्यक्तिले सजिलै प्रयोग गर्न सक्ने अवस्था बन्छ तर परिवारका बहुसङ्ख्यक व्यक्ति साङ्ग हुने हुनाले त्यस्तो आधुनिक चर्पीको आवश्यकता देखिँदैन र बनाइँदैन पनि । भान्साम कुर्सी राख्ने ठाउँ हुँदाहुँदै पनि पिर्का वा गुन्द्रीमा बस्न वाध्य पारिन्छ । हामी जब घरभित्र अभ्यस्त हुन्छौँ अनि बाहिर पनि बदल्न वा बदलिन सजिलो हुन्छ । यसबारे राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाललगायत पुनःस्थापनाका क्षेत्रमा काम गर्ने प्रत्येक सङ्घ-संस्थाका साथै अपाङ्गतासँग सरोकार राख्ने व्यक्ति एवं अन्य निकायसमेत एक भएर लाग्नु पर्ने देखिन्छ ।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.