Accessibility Options


Skip to Navigation Skip to Content
A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.

भूकम्प र अपाङ्गता

हुमकला पाण्डे


Humkala Pandeyनेपालमा यही २०७२ वैशाख १२ र २९ गते आएका ७.८ रेक्टर स्केलका महाविनाशकारी भूकम्पका कारण आठ हजारभन्दा बढी मानिसको मृत्युभयो । बाइस हजारभन्दा बढी व्यक्ति घाइते भए । भूकम्पबाट अति प्रभावित १४ र अन्य ३५ जिल्लाका हजारौं व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा प्रभावित भएका छन् । यसरी बढी प्रभावित हुनेमा अपाङ्गता भएका व्यक्ति, सुत्केरी महिला, बालबालिका, बिरामी तथा ज्येष्ठ नागरिकहरूको सङ्ख्या बढी देखिन्छ । घाइतेमध्ये शारीरिक चोटपटक लागेका बिरामी प्रशस्त रहेका छन् । धेरै स्पाइनल कर्ड इन्जुरी भएका, नशा काटिएका, हात खुट्टा भाँचिएका, टाउकोमा गम्भीर चोट लागेका, आँखा तथा कानमा गम्भीर असर परेका तथा विभिन्न प्रकारका अप्रेसन गरिएका केस विभिन्न अस्पतालका रेकर्डहरूबाट प्राप्त भएका छन् । समयमा उपचार हुन नसक्दा, अप्रेसन ढिला हुँदा धेरैजसो बिरामीका हात, खुट्टालगायत चोटपटक लागेका ठाउँलाई काट्नुपरेका घटना धेरै छन् ।

जन्मजात वा दुर्घटनालगायतका भौतिक तथा प्राकृतिक विपत्तिका कारण मानवका शारीरिक तथा इन्द्रीयजन्य अङ्गहरूमा विचलन भई सामाजिक, भौतिक जीवनमा सहजरूपमा सहभागिता जनाउन नसक्ने अवस्था अपाङ्गता हो । यसले गर्दा दैनिक जीवन सहज तरिकाले जीउन कठिनाइ हुन्छ । अपाङ्गताका विविधता र आवश्यकता फरक फरक हुने भएकाले त्यसै अनुसारको पहुँच र वातारण तयार भएमा मात्र सहजरूपले शिक्षा, स्वास्थ्यलगायत अन्य अवसर प्राप्त हुनसक्छन् ।

डर, त्रास र असुरक्षित वातावरणको महशुस यतिखेर अपाङ्गता भएका व्यक्तिहरूले गरेका छन् । मनोसामाजिक समस्या त झन् प्रबलरूपमा देखिएको छ । भूकम्पबाट भागदौड गर्दा बहु-अपाङ्गता भोग्नेदेखि अपाङ्गताका विकराल रूप समाजमा देखिएका छन् । पन्ध्र वर्षकी गर्भवती किशोरी स्पाइनल कर्डकी बिरामी छन् भने २ वर्षका बालकसमेत स्पाइनल कर्ड पीडित भएका छन् । भूकम्पका कारण घाइते भएकाहरूमा एकोहोरो हुने, आत्तिने, राम्रोसँग सम्झन नसक्ने समस्या पनि रहेका छन् । परिवारका सम्पूर्ण सदस्य गुमाएका तर बहु-अपाङ्गता भएका बिरामी पनि भेटिन्छन् ।

पहिले नै (पूर्व) अपाङ्गता भएका व्यक्तिहरूसमेत भागदौडका क्रममा खुट्टा भाँचिएका, मृत्यु भएका, घर पूर्ण तथा आंशिक क्षति भएका, सहायक सामग्री नस्ट भएको अवस्था छ । अपाङ्गता भएका व्यक्तिहरूलाई विपत्ति आउँदा कसरी सुरक्षित रहने भनी पूर्वतयारी नगरिएका कारण घरभित्र सहज तरिकाले बस्न र सुत्न कठिन भइरहेको छ । एकजना बहिरा व्यक्ति भन्नुहुन्छ- कान सुन्दिन, पराकम्पनको महशुसै हुँदैन, भागेर बाहिर जान सङ्केत र अरूको भाषा बुझ्न कठिन हुन्छ । साङ्केतिक भाषामा सूचना उपलब्ध हुँदैन ।

दृष्टिविहीनहरूका त्यस्तै व्यथा छन् । सेतो छडी वा अरू कुनै सहयोगीबिना सुरक्षित र सहज वातारणमा पुग्नु अत्यन्त अप्ठेरो कुरा हुन्छ । बौद्धिक अपाङ्गता भएकाहरूको स्थिति झन् दयनीय रहेको छ । एकजना बौद्धिक अपाङ्गता भएका बालकका आमाले सुनाउनुभयो- भत्किएको घरमा बस्न मिल्दैन तर बौद्धिक अपाङ्गता भएको बालक त्यो घरबाहेक बाहिर बस्न मान्दैन । उसलाई भूकम्प भनेको के हो, असर के हुन्छ भन्ने अनुभव नै हुँदैन ।

अटिजम भएका बालबालिका अरूका कुरा नसुन्ने, अरूसँग नखेल्ने स्वभावका हुने हुनाले भूकम्पको ज्ञान दिलाउन कठिन देखिन्छ भने डाउनसिन्ड्रोम भएका बालबालिकाको समेत व्यवस्थापन गर्न कठिन भएको छ । यस्ता बालबालिका अन्य बालबालिकासरह स्वनिर्णय गर्न त्यति सक्षम नहुने हुनाले भूकम्प तथा प्राकृतिक विपत्तिबाट सुरक्षा प्रदान गर्नु कठिन रहेको छ । बौद्धिक, अटिजम, डाउन्सिन्ड्रोमलगायतका अपाङ्गता भएका बालबालिकाका अभिभावकलाई भूकम्पलगायत विपत्तिका बारेमा बुझाउन र उनीहरूको व्यवस्थापन गर्न कठिन हुने गर्दछ ।

विनाशकारी भूकम्प र लगातारका पराकम्पनहरूबाट गम्भीर घाइते भई अनाहकमा अपाङ्गता हुनपुगेका व्यक्तिहरूको जीवनमा ठूलो उतार चढाव आएको छ । यसरी पूर्ण र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूले समाजमा नयाँ जीवन शुरू गर्नुपर्ने हुन्छ । खाना कसरी खाने, शौचालय (ट्वाइलेट) कसरी प्रयोग गर्ने, सार्वजनिक जीवनमा गमनशीलता र पहुँच (Mobility and Accessibility) कसरी स्थापित गर्ने भन्ने ठूलो चुनौती खडा भएको छ । अपाङ्गतासहितको जीवनलाई स्वावलम्बीरूपले जीउन सिक्नुपर्ने हुन्छ । त्यसका लागि दौँतरी परामर्श अति जरूरी रहन्छ । त्यसकारण घरको संरचनामा परिवर्तन गरिदिने, पारिवारिक शिक्षा र जनचेतना, परिवारको कमाउने व्यक्ति अपाङ्गता हुँदा पर्ने गरिबीको असरको सम्बोधन गर्न तालिम, स्वरोजगारी आवश्यक रहेको छ ।

नेपाल प्राकृतिकरूपमा विपत्ति खेपिरहने मुलुक हो, जहाँ बाढी, पहिरो, सडक दुर्घटनालगायतका घटना भइरहन्छन् । बर्सेनि धेरै व्यक्ति अपाङ्गताको सिकार हुनपुग्छन् । यस्तै व्यक्तिलाई परिवार तथा समुदायमै पुनःस्थापना गर्नु अति आवश्यक रहेको छ ।

अपाङ्गता भएका व्यक्तिहरूका परिवार र समाजमा सकारात्मक धारणाको विकास गर्ने, उनीहरूको सहभागितामा मात्र आवश्यकता पहिचान गर्ने, समयमै अपाङ्गतालाई न्यून गर्न आवश्यक चिकित्सकीय सेवा उपलब्ध गराउनु जस्ता कुराहरू आवश्यक छन् । समुदायमै शिक्षा, स्वास्थ्य, रोजगारी, सशक्तीकरण र सामाजिकीकरणका एकमुष्ट कार्यक्रमका माध्यमबाट समुदायलाई नै जिम्मेवार बनाउन सकेमा परिवारमै सहज जीवन जीउन सक्ने हुन्छन् अपाङ्गता भएका व्यक्तिहरू पनि ।

सहायक सामग्रीको प्रयोगले पहुँच र गमनशीलता बढ्न गई अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता बढ्न जाने हुन्छ । त्यसकारण आवश्यकता अनुसार सहायक सामग्रीको उत्पादन र वितरणलाई समेत तीब्र पार्नु अनिवार्य हुन्छ ।

अन्त्यमा, राज्यमाथि थोपरिएको यो विपद् व्यवस्थापनको चुनौतीको घडीमा भूकम्पबाट अपाङ्गता भएका र पूर्व-अपाङ्गता दुवैलाई सम्बोधन गर्ने गरी व्यवस्थापन गर्न पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिकाको पूर्ण कार्यान्वयन गर्दै अब गरिने पुनर्निर्माणलाई अपाङ्गता मैत्री बनाउनुपर्ने हुन्छ । सम्पूर्ण सार्वजनिक निकायका बाह्य तथा भित्री संरचना भौतिक अवरोधमुक्त बनाउनुपर्छ ।

अपाङ्गता आफैंमा संवेदनशील विषय भएको तर अवसर र वातावरण पाएमा यस्ता व्यक्तिहरूले समाज र राष्ट्रका लागि योगदान दिन सक्ने हुनाले अपाङ्गता पहिचानदेखि अन्तिम व्यवस्थापनसम्म यस क्षेत्रमा कार्यरत विषयगत विशेषज्ञता अनुसार संस्थाहरूसँगको साझेदारी जरूरी छ भने नेपालमा आउने जुनसुकै प्रकारका विपत्तिमा अपाङ्गता र यसको संवेदनशीलतालाई ध्यान दिएर पूर्वतयारी गर्नु अति आवश्यक रहेको छ ।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.