Accessibility Options


Skip to Navigation Skip to Content
A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.

२०७२ को महाभूकम्पको अनुभूति र अपाङ्गता

नरबहादुर लिम्बू


NB Limbu२०७२ वैशाख १२ गते शनिवार परेकाले बिहानको शनिवार-विशेष खाना खाई सदाझैं रेडियो नेपालको व्यक्ति-व्यक्तित्व कार्यक्रम सुन्दै लेखक आफ्नै घरको दोस्रो तला, बाटोपट्टिको कोठामा ढल्किरहेको हुन्छ । ढल्काइका क्रममा निद्रले झपक्क छोप्छ । उस्लाई के थाहा- यही दिन महाभूकम्प आइ पूरै देशलाई तहस-नहस पार्छ भन्ने कुरा ? आफ्नो ५० वर्षे उमेरमा यस्तो कहिलै परेको होस् न थाहा पाओस् ।

हुन त मेजर जनरल ब्रह्मशम्शेरको आलेखबाट १९९० सालको भूकम्पको कहानी नसुनेको होइन । भूकम्पीय दृष्टिले नेपाल एघारौं खतरापूर्ण क्षेत्रमा पर्छ भन्ने पनि नपढेको होइन । भूकम्पबाट बच्न “घुँडा टेकी ओत लागी गुडुल्किएर बस्नु” भन्ने नजानेको पनि होइन । सुरक्षा प्याकेज जहिले पनि तयारी अवस्थामा राख्नुपर्छ भन्ने पनि जानेकै हो । “आकाशको केतु, एकपटक नपरी कसरी चेतूँ” भने झैँ अरूसरह लेखकले पनि न त सोचेको थियो न त विशेष तयारी नै गरेको थियो । अझ भनौं यस्तो विनाशकारी भूकम्प आफ्नै जीवनकालमा आइलाग्छ भन्ने दश मनमा एक मन पनि थिएन । सायद धेरै नेपालीको यस्तै हविगत भएको हुनुपर्छ ।

नब्बे सालको भूकम्प, जुन नेपालको पूर्वी क्षेत्रमा पर्ने संखुवासभालाई केन्द्रबिन्दु बनाएर गएको थियो, त्यसले नेपालको पूर्वी भाग र काठमाडौं उपत्यकाको विशेषगरी लुबू, साना गाउँ र पाटन (ललितपुर) मा बढी प्रभाव पारेको थियो । साढे आठ हजार मानिस, कयौं चौपाया र हजारौं घर नोक्सान गरेको थियो । पृथ्वी गुड्गुडाएर डोलायमान हुँदै आएको त्यो महाभूकम्पले कयौं ठाउँमा जमिन चिरा पारेर पानी निस्केको थियो । तत्कालीन प्रधानमन्त्री जुद्धशम्शेरले त्यस विपद्को घडीमा के गर्न सकिन्छ भनी व्यापारीहरूसँग बैठक राख्दा सबै नेपाली व्यापारी तैँचुप मैचुप भए रे । बरू नेपालमा व्यापार गरेर बसेका माडवारीहरू, जसले नेपालबाट बाहिरिन आदेश पाइसकेका थिए, तिनले एक महिनाका लागि भूकम्प पीडितलाई खानपानको व्यवस्था गर्ने आश्वासन दिएछन् । उनीहरूलाई नेपालमै बसेर व्यापार गर्न दिने निर्णय जुद्ध शम्शेरले गरेको दृष्टान्त भेटिन्छ । भूकम्प पीडितलाई जुद्धले प्रतिव्यक्ति १०० रुपियाँ आर्थिक सहयोग दिनुका साथै बजारभाउ बिगार्ने व्यापारीलाई चार जना साक्षी राखेर मुचुल्का बनाएर काट्नु भन्नेसम्मको आदेश दिएका थिए भन्नेसम्म पनि पढेकै हो । तर, जतिसुकै अध्यन गरे पनि के गर्नु, नपरेसम्म चेतिँदो रहेनछ । भोगेकै कुरा बढी मनन र कार्यान्वयन गरिन्छ भने जस्तै माथिका सबै ज्ञानलाई कहिलै वास्ता र कार्यान्वयन गरिएन । न त नब्बे सालपछि जनमेका नेपालीले नै त्यसलाई हेक्का राखेको पाइयो ।

बझाङ जिल्लामा २०३८ सालमा आएको भूकम्पले काठमाडौं उपत्यकाको जनजीवनलाई खासै छोएन । वि.सं. २०४५ मा उदयपुर केन्द्रबिन्दु भएर आएको भूकम्पले विशेषगरी नेपालका पूर्वी भागमा पर्ने धरान र केहीमात्रामा काठमाडौं उपत्यकालाई प्रभाव पार्‍यो । थोरैमात्र असर परेकाले उपत्यकाका मान्छेले त्यो चोटलाई भुसुक्कै बिर्से । बरू पन्चायती व्यवस्थाताका बनाइएका दुई-तीन तलाभन्दा अग्ला घर बनाउनुहुँदैन र खेतीयोग्य जमिनमा निर्माण कार्य नगर्नु भन्ने नीति उलङ्घन गरी विशेषगरी गोङ्गबू क्षेत्र, जहाँ मलिलो पाँगो माटो भएको जमिन छ, त्यहाँ सात-आठ तले भवन ठड्याइयो । त्यसैका कारण यसपल्ट त्यो क्षेत्रमा बढी प्रभाव देखियो ।

सन्दर्भ वि.सं. २०७२ वैशाख १२ को महाभूकम्पको । गाढा निद्रामा परेको लेखकले सपना देख्न थाल्यो । बस चढेर कतै गइरहेको जस्तो अनुभूति हुन्छ । झसङ्ग भएर बिउझिँदा त पूरै घर घरर हिँडिरहेको हुन्छ । बल्ल पो पत्ता लाग्छ- भूकम्प आएछ । अब के गर्ने. दृष्टिविहीन भएकाले दौडौं भने कता र कसरी दौडने ? त्यसैबेला घरको छतको पर्खाल गर्ल्याम्म खस्छ । अब चाहिँ ठूलो भूकम्प आएछ भनेर सातोपुत्लो उड्छ । परिवारका अन्य सदस्य घरभित्र छन् कि बाहिर, केही पत्तो हुँदैन । खटियामुनि छिरौं भनी यसो खुट्टा भुइँमा झारौं भन्दा त आफ्नो पलंग बक्स पलङ्ग भएकाले त्यो प्रयास पनि ब्यर्थ हुन्छ । त्यसपछि त भगवानसँग जीवनको याचना गर्नुसिवाय उपाय हुँदैन । तसर्थ, खटियामै पल्टिरहन्छ ।

मेरो त यस्तो हालत भयो भने केवल सुतिरहने अपाङ्गता भएका व्यक्तिहरू, जस्तैः ह्विल चियर प्रयोगकर्ता, सेलेवरपल्सीहरू, बौध्दिक अपाङ्गता भएका व्यक्तिहरूको अवस्था कस्तो भयो होला !! कल्पना गर्न पनि बडो गाह्रो । कोठामा झुण्ड्याइएका तस्बिर र टेबुलमा राखिएका फूलदानीहरू झरेर झर्‍याम्म-झुरुम फुट्छन् । आफैंले सजाउन राखेका सामानले आफैंलाई चोटपटक लगाउलान् भन्ने कत्रो त्रास ।

लगभग ५८ सेकेण्डको पृथ्वीको फन्फनी घुमाइपछि धर्ती मत्थर हुन्छ । हतार-हतार ओछ्यानबाट उठेर कोठा बाहिर आउँदा त परिवारका सदस्य रूँदै यता र उति गरिरहेका हुन्छन् । सबैलाई सम्झाउँदै तल झर्नासाथ फेरि पराकम्पन आउँछ । बाहिर जाउँभन्दा आउँदैन भनी कोही बाहिर जान मान्दैनन् । उनीहरूले ठूलो भूकम्प भोगेको भए पो पराकम्पनको अनुभव होस् । हुन त मलाई पनि अनुभव कहाँ ? आउँदैन कि भनी बरण्डामै बसिरहियो । त्यसैबेला फेरि अर्को ठूलो झड्का गयो । अनि चाहिँ अब भएन भनेर सपरिवार चौरतिर लागियो । त्यसपछि कयौं झड्का क्रमशः आउन थाले । रेडियोले फुक्न थाल्योकि- धरहरा ढल्यो । सात तलेलगायतका थुप्रै घर भत्किएका, मानिस हताहत भएका खवरहरू आउन थाले । अनि पो आँङ सिरिंग हुनथाल्यो । कयौं पुरातात्विक भवन, मठ-मन्दिर र ऐतिहासिक महत्वका सम्पदा ढलेका खवर आउन थाले ।

सिङ्गापुर, मलेसिया, दुबईबाट फोन आउन थाल्यो । केन्द्रबिन्दु कसैले मुग्लिङ त कसैले चितवन भन्न थाले । मलाई भने यसको केन्द्रबिन्दु गोरखा होला जस्तो लागेको थियो । नभन्दै रेडियोले गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ रेक्टर स्केलको भूकम्प भन्ने बतायो । अझै पनि लामो समयसम्म पराकम्पन आइरहन्छ भन्ने लागेको थिएन तर दिनभरिजसो आइरहेकाले यो लामै समय तर सानो-सानो आउला भन्ने लागेको थियो । तर, भोलिपल्ट १२.५० बजे ६.९ को अर्को ठूलो धक्का आएपछि चाहिँ यसको पराकम्पन महिना दिनभन्दा बढीसम्म आउने निश्चित भयो । अझ वैशाख २९ को १२.५४ तिर दोलखालाई केन्द्रबिन्दु बनाएर आएको ६.८ को अर्को झड्काले त अलि-अलि सामान्य हुन लागेको जनजीवन फेरि त्रासदीमा परिणत भयो । त्यसपछि पनि पटक-पटक पराकम्पन आइरहेकाले के अपाङ्गता भएका, के साङ्ग, सबैको जीवन अस्तव्यस्त भयो । घाइते हुने, ज्यान गुमाउने र ध्वस्त भएका सरकारी तथा व्यक्तिगत संरचनाहरूको सूची दिनौं दिन बढ्न थाल्यो ।

मानिसहरू कुनबेला कहाँ केन्द्रबिन्दु बनाएर नेपालमा भूकम्प आएको थियो भनेर खोजीनीति गर्न लागे । अक्सर कति-कति वर्षमा भूकम्पले चक्कर लगाउँदोरहेछ भन्ने आँकलन गर्न थालियो । त्यसै क्रममा तेह्रौं, पन्ध्रौं शताब्दीतिर भूकम्प आएको र त्यसमा परी राजासमेत मरेका इतिहास पनि खोतल्न थालियो । त्यसबेला सिस्मोग्राफको आविस्कार नभइसकेकाले कति रेक्टर स्केलको भूकम्प आएको थियो भन्ने भने पत्ता लाग्ने कुरै भएन । यति चाहिँ अनुमान सहजै गर्न सकिन्छ कि नेपाल परापूर्वकालदेखि नै भूकम्पको जोखिमयुक्त भूगोल रहेछ । वि.सं. १८९० मा रसुवा केन्द्रबिन्दु बनाएर भूकम्प आएको रहेछ । गणना गर्दा अहिलेको भूकम्प त्यसैको पुनरावृत्ति हो भन्ने धेरैले लख काटेका छन् ।

यी दृष्टान्तले नेपालीले जहिले पनि सतर्क हुनुपर्ने, घर र सार्वजनिक भौतिक संरचनाहरू भूकम्प निरोधक वा कम क्षति गर्ने खालका बनाउनु पर्ने अपरिहार्यता सिद्ध भएको छ ।

प्राकृतिक विपद् सबैका लागि जोखिमपूर्ण हुन्छ । त्यसमा पनि अपाङ्गता भएका व्यक्तिहरूका लागि त झन बडो अप्ठ्यारो, दुःखदायी र दारूण हुन्छ । वैशाख १२ को भूकम्पमा केही अपाङ्गता भएका साथी आफ्नो ढुङ्गा-माटोले बनेको घरको चार तलामाथि देवालीको भोज खाँदै हुनुहुन्थ्यो । त्यसैबेला महाभूकम्प आयो । मुस्किलले उहाँहरूलाई बोकेर उद्धार गरी ज्यान बचाइएको कुरा सुन्दा मुटु नै चिरा भएर आउँछ ।

भक्तपुर नगरपालिका- १७ का विवेक सिन्ताखल, जो बहु-अपाङ्गता भएका व्यक्ति थिए, बोल्न, हिड्न सक्दैनथे, उनलाई आफ्नै कोठामा राखिएको थियो । भूकम्प आउँदा सबै भागे । छेउको घर भत्किएर उनको कोठा भएको भाग भत्कँदा उनको दारूण मृत्यु हेर्नुसिवाय केही गर्न सकिएन ।

त्यस्तै सिन्धुपाल्चोकको मेलम्ची घर भएका शारीरिक अपाङ्गता भएका जीतबहादुर खड्का, जो पारा ओलम्पिकका खेलाडी थिए, उनी पनि महाभूकम्पको हिंस्रक आक्रमणबाट बच्न सकेनन् । अकालमै ज्यान गुमाउन वाध्य भए ।

गोरखाको सिंजुङकि अल्पदृष्टिविहीन कुन्तादेवी दवाडी, धादिङको जनजागृती मा.वि. मा कक्षा ६ मा अध्यनरत अत्यन्त मेधावो दृष्टिविहीन विद्यार्थी विष्णु खनालले सल्यानटारमा रहेको आफ्नै घर भत्किएर थिचिई प्राण त्याग गर्नुपर्‍यो ।

यी त प्रतिनिधि पात्रमात्र हुन् । भूकम्प प्रभावित १४ मध्ये मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा, चितवन, काभ्रेपलाञ्चोक, धादिङ, रसुवा आदि जिल्लामा ३७ भन्दा बढी अपाङ्गता भएका व्यक्तिले अनाहकमा ज्यान गुमाउनुपरेको तथ्य नेपाल नेत्रहीन संघसँग छ भने १५ सयभन्दा बढी अपाङ्गता भएका व्यक्तिले घरबास गुमाए ।

 विपद् अवश्यम्भावी हो, जोखिमयुक्त क्षेत्रका वासिन्दाका नाताले । यस्तो विपद्को पूर्वानुमान गरी अपाङ्गता भएका व्यक्तिहरूका हकमा कम जोखिमयुक्त संरचना निर्माण गर्ने, उपयुक्त स्थान छनौट गरेर बसोबास गराउने, उद्धारलाई पहिलो प्राथमिकता दिने गरेमा बढीभन्दा बढीलाई अकाल-मृत्युबाट पक्कै बचाउन सकिन्छ ।

विपद् बाजा बजाउँदै खवर दिएर आउँदैन । पूर्व अनुभव र सिकाइका आधारमा जहिले पनि देश र जनता तयारी अवस्थामा रहनुपर्छ । भूकम्प जटिल अध्ययनको विषय हो । यसको आगमन पत्ता लगाउन पूर्वानुमान गर्ने यन्त्रको आविस्कार हुनसकेके छैन । यो आएको समय, एकपछि अर्को आउने कम्पनको समय, सालको अन्तर र रेक्टर स्केललाई नै आधार बनाएर होसियारी अपनाउनुको विकल्प भेटिँदैन ।

यसपटकको भूम्पकको जोखिम न्युनीकरणका लागि नेपाल सरकारले पनि खासै पूर्वतयारी गर्न नसकेको कुरा भूकम्प आएपछि अरू देशसँग त्रिपाल, पाल, टेन्टका लागि समेत हात फैलाइरहेको घटनाबाट पुष्टि हुन्छ । संरचना निर्माणमा कुनै मापडण्ड नतोक्नु, माटोको गुणस्तर परीक्षण नगरी गगनचुम्बी अपार्टमेन्ट निर्माणको स्वीकृति दिनु, राणाकालीन पुराना भवनमै प्रधानमन्त्रीको जस्तो महत्वपूर्ण कार्यालयसमेत राख्नु, भौतिक संरचनाहरूको आयुबारे कुनै लेखाजोखा नगर्नु आदिले सरकार केवल गुजारे नीतिमा अल्मलिएको प्रष्ट हुन्छ । जसरी पनि आफ्नो कार्यकाल गुजारौं भन्ने सोच नेता र योजनाविद्‌मा हावी भएको पाइन्छ ।

अहिले देश भीषण भूकम्पपछिको क्षतविक्षत अवस्थामा छ । उद्धार एवं राहतको समय पार भएर पुनःनिर्माण र पुनःस्थापनामा छ । राज्यले अहिलेको खतरा टर्‍यो भनेर कसरी कम खर्चमा जनतालाई टारौं भनी १५ हजारकि ५० हजारको कुरो गरेर टारिरहेको, अल्मल्याइ रहेको देखिन्छ । अर्थमन्त्री जसरी पनि कम खर्चले टारौं भन्ने माडे प्रवृतिबाट ग्रसित देखिन्छन् । मनग्य सहयोग गरी जनताको दिगो विकास गरौं, जिउ ज्यान रक्षाको पूर्ण अनुभूति दिलाऊँ बरू उत्पादनमा जोड दिई देशको संवृद्धि गरौं भन्ने सोचमा देखिँदैनन् । आफ्नो कार्याकालमा देशको सन्चति बढी देखाऊँ भन्ने सोचबाट बढी प्रेरित देखिन्छन् । यो भनेको हुट्टिट्याउँले आकाश थाम्छु भन्ने जस्ते रूघ्ण सोच हो । समय त जहिले पनि अग्रगामी हुन्छ । वसन्त आउँछ, नयाँ पातहरू पल्लवित हुन्छन् । सधैँ एउटै बुढो रूख र एउटै यामका पालुवा र पातले कहाँ पुग्छ । यो कुरा महान अर्थशास्त्री भन्ठान्ने अर्थमन्त्रीजीले बुझ्नुपर्ने हो । एउटै पारा र सोच अनि चलनले पुग्ने भए वस्तु विनिमय (बाटर) प्रणाली अन्त्य भई किन मौद्रिक प्रणाली आउँथ्यो ? अहिले त इलेक्ट्रोनिक मनिसिष्टम आइसक्यो मन्त्री ज्यू । अबको युग खर्च गरेर कमाउने युग हो न कि पैसा पटुकामा बाँधेर जोगाउने ।

हामी नागरिक पनि अनावश्यक लोभी र स्वार्थी बन्नुहुन्न । क्षतिका आधारमा मात्र राहत र सहयोग माग्नुपर्छ । कतिपय मानिस जबजस्ती घरवार क्षति भयो भनेर सहयोग पाइँन भनी रेडियो, टेलिभिजन र पत्रिकामा कराएको सुनिन्छ । ऋण मिनाह हुन्छ भनेर ऋण लिन उद्दत भएको पनि पाइन्छन् । यो असाध्यै गिद्दे प्रवृति हो । हात मुनिभन्दा माथि परेको राम्रो भन्ने नीतिबाट अनुप्राणित हुनुपर्छ । यसैले हाम्रो इज्जत र गौरव जोगिन्छ ।

भूकम्पका अनुभवीहरू भन्छन्- ठूलो भूकम्पपछि प्रशस्त पराकम्पन जानुपर्छ । जति फरसक र अटरसक गयो, उति लामो समयलाई संकट टर्छ । चौध वर्ष अघि भारतको अहमदावादमा भूकम्प जाँदा त्यसै दिन हजारौं पराकम्पन गएका थिए रे । तर, नेपालमा हालसम्ममा बढीमा चारसय पराकम्पन गए होलान् । फेरि १८९१ साल असारमा भूकम्प आई फेरि भदौमा आएको घटना पनि छ । तसर्थ, अहिले नै संकट टर्‍यो भनेर ढुक्क हुने ठाउँ छैन ।

 

भूकम्पबाट अपाङ्गता भएका व्यक्तिहरूलाई सुरक्षित गराउने उपाय

माथि नै भनिसकियो कि भूकम्पलगायत विभिन्न प्रकारका प्राकृतिक विपद् आउँदा अरू सामान्य नागरिकभन्दा अपाङ्गता भएका व्यक्तिहरू बढी असुरक्षित र जोखिममा हुन्छन् । अरू दौडेर भाग्न सक्छन्, विविध आवाज सुन्छन्, बाटो पहिल्याउन सक्छन्, वस्तुस्थिति बुझ्न सक्छन् तर ह्विलचियर प्रयोगकर्ता, स्पाइनल कड इन्ज्युरी भएकाहरू, मस्तिष्क पक्षाघात भएकाहरू भाग्न सक्दैनन् । दृष्टिविहीनहरू बाटो पहिल्याएर दौडन सक्दैनन् । बहिराहरू खतरा सूचक आवाजहरू सुन्दैनन् । बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू वस्तुस्थिति बुझ्दैनन् । यस्ता विशेष प्रकृतिका व्यक्तिहरूलाई विपद्का बेला विशेष ध्यान दिनुपर्छ ताकि उनीहरूको बाँच्न पाउने मानव अधिकार संरक्षण होस् ।

अर्को कुरा विपद्को समय हुलमुलको, जमघटको समय पनि हो । यस्तो बेलामा विभिन्न प्रवृत्तिका व्यक्तिहरूसँग संसर्ग गर्नुपर्ने हुन्छ । कसैको मनमा कोही पस्न सक्दैन । नियत अनेकको अनेक हुनसक्छ तसर्थ कलुषित विचार र व्यवहार भएका व्यक्तिहरूको शिकार विशेष अपाङ्गता भएका महिला, तिनमा पनि आफूलाई परेको मार्का भन्न नसक्ने बौद्धिक अपाङ्ता भएका महिला बन्न सक्छन् । त्यसैले उनीहरूको सुरक्षामा विशेष ध्यान दिनु जरुरी छ ।

अपाङ्गता भएका व्यक्तिहरूको विविध शारीरिक अवस्था हुन्छ । कसैले कर्चेसको सहयोगले त कसैले सेतो छडीको सहाराले हिड्नु परिरहेको हुन्छ । केहीलाई जुनसुकै ठाउँमा सौच गर्न समस्या हुन्छ त कोही सांकेतिक भाषाका माध्यमबाट मात्र सञ्चार गर्न सक्छन् । त्यस्तै कोही ह्विलचियरको मद्दतबाट मात्र जीवनलाई चलायमान बनाउन सक्छन् । अझै बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू त के भइरहेछ, के हुँदैछ आदि केही थाहा पाउँदैनन् । उनीहरूको जीवन सञ्चालनको मुख्य आधार नै अभिभावक हुन् । अभिभावक भएनन् भने गम्भीर प्रकृतिका बौद्धिक अपाङ्गता भएकाहरू बिल्कुल सहाराविहीन र निर्दोष-एक्लो हुनपुग्छन् । श्रवण-दृष्टि-विहीनहरूमा अन्य व्यक्तिहरूमा जस्तो चेतना त हुन्छ तर सुन्ने, देख्ने क्षमता नभएकाले के गर्ने, कता जाने भन्ने केही पत्तो पाउँदैनन् । भूकम्पले हल्लाएको त थाहा पाउँछन् तर दृष्टि र सुनाइको अभावमा सुर नहुनुको कारण भाग्न, हिड्न, दगुर्न सक्दैनन् । लाचार भएर एक ठाउँमा बस्न वाध्य हुन्छन् । कल्पना गरौं- त्यस्तो परिस्थितिमा तिनको जीवन कस्तो होला ॽॽ

 

प्राकृतिक प्रकोप वा विपद्‍मा अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष ध्यान दिनुपर्ने उपाय

१. भूकम्पको जोखिमबाट बच्न विशेष तयारी प्याकेजमै अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता अनुसारका सामग्री वा सहायक सामग्रीहरू सधैंको जसरी नै (पूर्ववत्) राखिदिनुपर्छ । बौद्धिक अपाङ्गता भएका, श्रवण-दृष्टिविहीन, मस्तिष्क पक्षाघात, स्पाइनल इन्ज्युरी भएका व्यक्तिहरूलाई जहिले पनि अभिभावकको नजिक राख्ने, सुताउने व्यवस्था मिलाउनुपर्छ ।

२. ह्विलचियर प्रयोगकर्ताहरूका लागि सकेसम्म भुइँतलामा बसोबासको प्रबन्ध गर्नुपर्छ । त्यस्तो घर वा आवास र्‍याम्पयुक्त हुनु अति आवश्यक छ । कोठाका चुकुल तल र सहजै खोल्नमिल्ने हुनुपर्छ ता कि परेको बेला आफैंले खोलेर बाहिर निस्कन सकून् ।

३. दृष्टिविहीनहरूका लागि आवास, कार्यालय, विद्यालय, छात्रावास आदि सबै स्पर्शीय (छोएर थाहापाउन सकिने) संकेतयुक्त हुनुपर्छ । भूकम्प जाँदा टेलिफोन, बिजुली सबै अवरूद्ध हुने हुँदा सूचना थाहा पाउन रेडियो अति जरूरी हुन्छ ।

४. विपद्पछि उद्धार कार्य गर्दा अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिनुपर्छ ।

५. राहत वितरण गर्दा अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकतामा राखी बाड्नुका साथै अपाङ्गता भएका महिलाहरूलाई आवश्यक सेनेटरी टाबेल, प्याड आदिको व्यवस्था गर्नुपर्छ । त्यस्तै नियमित औषधि खाने अपाङ्ता भएकाहरूका लागि उपयुक्त प्रबन्ध मिलाउनुपर्छ ।

६. सरकारले क्षतिपूर्ति दिँदा अपाङ्गता भएका व्यक्तिहरूका लागि थप व्यवस्था गर्नुपर्छ । घरहरू निर्माण गर्दा अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष थप सुविधाहरूको प्रबन्ध गर्नुपर्ने हुँदा निर्माण खर्चमा दोब्बर व्यवस्था गर्नुपर्छ ।

७. भूकम्प प्रभावित क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूका लागि रोजगारी र स्वरोजगारी सिर्जना गरी उनीहरूलाई परनिर्भरताबाट मुक्त गर्न अल्पकालीन र दीर्घकालीन योजनाका साथ तालिम केन्द्र र तालिम प्याकेजहरू बनाएर लागू गर्नुपर्छ ।

८. बसोबास गुमाएका अपाङ्गता भएका व्यक्तिहरूका निम्ति आवश्यक समयसम्मका लागि अस्थायी आवासको प्रबन्ध मिलाउनुपर्छ ।

९. दातृ देश र संस्थाहरूलाई अपाङ्गता भएका व्यक्तिहरू केन्द्रित कार्यक्रम प्याकेज बनाई त्यसमा सहयोग गर्न आह्वान गर्नुपर्छ ।

१०. बस्ती उठेका क्षेत्रका अपाङ्गता भएकाहरूलाई समथर, घर बनाउन योग्य क्षेत्रमा बसोबासको व्यवस्था मिलाउनुपर्छ ।

११. शिक्षा, स्वास्थ्य र नियमित उपचारको आवश्यकता परेमा त्यसको प्रबन्ध सरकारले मिलाउनुपर्छ ।

 

 

वैशाख १२, २०७२ महाभूकम्पीय विपद्‍बाट सबैले सिक्नु पर्ने कुरा

  • घरको नाममा घर बनाउनु नहुने बरू बाँसको सेन्टरबेराको घर बनऔं तर कमजोर जग भएको पिल्लर र बीम कमजोर भएको घर नबनाऔं ।
  • माटो परीक्षण नगरी घर नबनाऔं, जसले त्यस्तो ठाउँमा घर बनाइसकेको छ, सरकारद्वारा अध्ययन गरी त्यस्ता घरलाई बस्न अयोग्य घोषित गर्नुपर्छ ।
  • अब सरकारले बसोबास गर्ने र खेती गर्ने जमिन अध्ययन गरेर छुट्याउनुपर्छ ।
  • अति भिरालो, नदीको जोखिम हुने, फुस्फुसे माटो भएका डाँडाहरूका बस्तीको उचित प्रबन्ध सरकारले समयमै गर्नुपर्छ ।
  • दुई-तीन तलेभन्दा बढी अग्ला घर बनाउने स्वीकृति दिइनु हुँदैन ।
  • भूकम्पका दृष्टिले सरकार जहिले पनि रक्षात्मक रहनुपर्छ । पाल, त्रिपाल, टेन्ट र अस्थायी घरहरू मौजुद राख्नुपर्छ ।
  • हरेक सालको बजेटमा विपद् व्यवस्थापनका लागि बजेट तर्जुमा गर्ने परिपाटी बसाउनुपर्छ ।
  • पुराना र कमजोर सार्वजनिक भवन, स्तम्भ, मठ-मन्दिर, पाटीपौवा, स्मारक आदिको वस्तुस्थिति बुझेर जीर्णोद्धार, मर्मत-संभार गर्नुपर्छ ता कि धरहराको जस्तो हालत नहोस् ।

 

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.