Accessibility Options


Skip to Navigation Skip to Content
A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.

अपाङ्गता भएका व्यक्तिहरूका लागी पनि अवसर हो!

बिमल पौडेल


Bimal Paudel“हरेक संकट अवसर त हो तर सबैका लागि होइन ।“

(सेतोपाटी, २०७२, जेठ ६)

पत्रकार विजयकुमार पाण्डेका शब्दमा हरेक सङ्कट अवसर भइहाल्दैन र अझ त्यो सबैका लागि त झन् प्राप्त नहुन पनि सक्छ । यहाँ देशले वर्तमान समयमा भोग्नु परिरहेको विनाशकारी भूकम्पपछि गरिने राहत वितरण, पुनर्निर्माण एवं पुनःस्थापना प्रक्रिया अपाङ्गता भएका व्यक्तिहरूका निम्ति के अवसर होला त भन्ने प्रश्नको सेरोफेरोमा रही केही विचार प्रस्तुत गर्न खोजिएको छ ।

२०७२ वैशाख १२, १३ र २९ गते नेपालमा गएका ठूला भूकम्प एवं तिनीहरूका सयौं पराकम्पनबाट देशको राजधानीलगायत आसपासका जिल्लाहरूमा थुप्रै धनजनको क्षति भयो । यो लेख तयार गर्दासम्म पनि त्यस्ता पराकम्पन जाने क्रम रोकिएको छैन । सरकारका विभिन्न निकाय आफ्ना देशका नागरिक एवं विभिन्न विदेशी व्यक्ति, संस्थाका साथै सरकारका प्रतिनिधि टोलीहरूसँग मिलेर उद्धार, राहत एवं पुनःस्थापना कार्यमा सक्दो जुटिरहेको देख्न र सुन्न पाइन्छ ।

यस परिप्रेक्षमा भूकम्पले देशमा विनाश त निम्त्यायो तर यसलाई नयाँ नेपाल निर्माण गर्ने गतिलो अवसरका रूपमा लिएर सोहीबमोजिम सबै लाग्नुपर्ने कुरा गर्नेहरूको देशभित्र र बाहिरसमेत ठूलै जमात देखिन्छ । त्यो कुरा गलत त होइन तर पत्रकार पाण्डेले भने झैँ त्यसलाई हामी कसरी लिन्छौँ र कस्तो योजनाका साथ अघि बढ्छौं भन्ने कुरा चाहिँ पक्कै महत्वपूर्ण कुरा हो । त्यसमा पनि त्यस्ता योजना एवं कार्यक्रमले समाजमा पछि पारिएका अपाङ्गता भएको वर्ग एवं अन्य समुदायलाई कत्तिको सम्बोधन गर्न सक्लान् भन्ने कुरा त अझ बढी महत्वपूर्ण र चासोको विषय हो ।

यो महाभूकम्पमा परी विभिन्न जिल्लामा थुप्रै अपाङ्गता भएका व्यक्तिले ज्यान गुमाएका छन्, घरबार एवं आफ्ना आफन्त गुमाएका छन् । बाँचेकाहरू पनि अझ बढी जटिल परिस्थितिमा जीवन बिताउन वाध्य छन् । अस्थायीरूपमा बस्न बनाइएका त्रिपाल एवं टेन्टहरूमा निकै नै कष्टकर दिनहरू काटिरहेका छन् । एकातिर राहत वितरणका क्रममा दौडेर वा हतार हतार गरेर पुग्न उनीहरूलाई अप्ठ्यारो परिरहेको हुन्छ भने अर्कातिर उनीहरू बसिरहेको स्थान अपाङ्गतामैत्री नहुनाले दैनिक क्रियाकलाप सञ्चालन गर्न समेत अप्ठ्यारो परिरहेको स्पष्ट महशुस गर्न सकिन्छ । यसबाहेक विनाशकारी भूकम्पमा परी सयौं साङ्ग व्यक्तिहरूसमेत अपाङ्गता भएका व्यक्ति बन्न पुगेको परिस्थिति छ, जसको व्यवस्थापनसमेत चुनौतीको रूपमा हाम्रा अगाडि छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्रारम्भिक तथ्याङ्क अनुसार हालसम्म ३० जना अपाङ्गता भएका व्यक्तिले ज्यान गुमाइसकेका छन् भने कुनै न कुनैरूपमा महाभूकम्पको विनाशबाट प्रभावितको सङ्ख्या एक हजार नाघिसकेको छ । सबै ठाउँबाट तथ्याङ्क नआइसकेको र विकट स्थानहरूको तथ्याङ्क लिन अप्ठ्यारो भएको अवस्थामा यो सङ्ख्या अझै बढ्ने पक्कापक्की छ । संयुक्त राष्ट्रसंघका विभिन्न निकायका प्रतिवेदनमा समेत हजारौंको सङ्ख्यामा अपाङ्गता भएका व्यक्ति प्रभावित भएको प्रारम्भिक अनुमान छ । त्यसमा पनि पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति एवं अपाङ्गता भएका महिला तथा बालबालिका अझ बढी जोखिमपूर्ण अवस्थामा जीवन गुजार्न बाध्य भइरहेको देखिन्छ ।

केही सुगम स्थानमा अस्थायी शिविरहरू स्थापना गरी विभिन्न अपाङ्गता भएका व्यक्तिहरूलाई अस्थायीरूपमा बस्ने व्यवस्था गरिएको छ । दुर्गम गाउँहरूमा भने अन्य साङ्ग व्यक्तिहरूको समेत अवस्था दयनीय रहेको कुरा बाहिर आइरहँदा ती क्षेत्रमा हजारौंको सङ्ख्यामा रहेका अपाङ्गता भएका व्यक्तिहरूको अवस्था कस्तो होला भन्ने कुरा सहजै अनुमान गर्न कसैलाई पनि गाह्रो नपर्ला ।

यतिबेला विभिन्न देशका सरकार एवं मानवतावादी संघ-संस्था जोडतोडका साथ राहत वितरण एवं पुनःस्थापना कार्यमा लागिरहेका छन् । केही समयपछि भूकम्पले क्षतविक्षत बनाएका भौतिक संरचनाहरूको पुनर्निर्माण कार्यसमेत अघि बढ्नेछ । केही वर्षयता अपाङ्गता भएका व्यक्तिहरूलगायत अन्य जोखिमपूर्ण अवस्थामा बाँचिरहेका समुदायका व्यक्तिहरूलाई समेत विशेष प्राथमिकतामा राखी त्यस किसिमका क्रियाकलापहरूमा सहभागी गराउनु पर्ने कुरा धेरैजसो संघ-संस्थाले स्वीकार गरेको कुरा हो । अब त्यसलाई वास्तविकतामा परिणत गर्ने अवसर आएको छ । त्यसो भएमा मात्र अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा समेत सकारात्मक परिवर्तन आउने छ ।

यसको अर्थ पत्रकार पाण्डेले भनेझैँ भूकम्प पहिला र पछि उनीहरूको अवस्था फरक हुनुपर्छ । होइन भने अपाङ्गता भएका व्यक्तिहरूले हाम्रो समाजमा सदैव पराश्रित/परजीवी एवं निरीह भएर बाँच्नु परिरहेको परिस्थिति अझ बढी बिग्रदो र जर्जर अवस्थामा पुग्नेछ । त्यसले गर्दा २ प्रतिशतको हाराहारीमा रहेका अपाङ्गता भएका व्यक्तिहरूको यस्तो परिस्थिति बोकेर हामीले समृद्ध नयाँ नेपालको निर्माण त के त्यसको परिकल्पनासम्म पनि कदापि गर्न सक्नेछैनौँ ।

भूकम्प आउनुभन्दा पहिला राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र अपाङ्गताका क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले सार्वजनिक महत्वका भौतिक संरचनाहरू निर्माण गर्दा अपाङ्गता भएका व्यक्तिहरू एवं सबैका लागि पहुँच हुनेगरी बनाइनु पर्ने कुराको वकालत गर्दै विभिन्न दबाबमूलक कार्यक्रमसमेत सञ्चालन गर्ने गरेको भए पनि केही भवन एवं सडकमा र्‍याम्प बनाउनेबाहेक अन्य कुनै पनि कुरामा धेरैको खाँसै ध्यान गएको देखिँदैनथ्यो ।

उदाहरणका रूपमा गत वर्षमात्रै सार्क सम्मेलनका क्रममा २० करोड रुपियाँभन्दा बढी खर्च गरेर तामझामका साथ पुनर्निर्माण गरिएको राष्ट्रिय सभागृह अत्याधुनिक सुविधासम्पन्न भनी मिडियाबाजी गरिएको भए पनि बि.बि.सि. नेपाली सेवामा रवीन्द्र मिश्रको “के त्यति ठूलो धनराशी खर्च गरेर पुनर्निर्माण गरिएको त्यो भवन अपाङ्गतामैत्री छ त” भन्ने प्रश्नको जवाफमा मुख्य सचिव लीलामणि पौडेलले सोझो जबाफ दिन नसकेबाट नै प्रस्ट हुन्छ कि आजको परिस्थितिमा आइपुग्दासमेत हामी कति गैरजिम्मेवारपूर्ण काम गरिरहेका छौं भन्ने ।

यसरी हेर्दा यदि भूकम्पपूर्वको समयमा नै केही हदसम्म भए पनि यसप्रति ध्यान पुर्‍याउन सकेको भए धेरै अपाङ्गता भएका व्यक्तिले आजको अवस्था भोग्नुपर्दैनथ्यो होला भन्ने देखिन्छ । त्यस्तै यही भूकम्पका कारण सयौं व्यक्ति अपाङ्गता भएका व्यक्ति बन्न पुगेका छन्, जुन अवस्था हामीले भूकम्पपूर्व गरेको बेवास्ताकै कारणबाट जन्मन पुगेको हो ।

नेपाल सरकारले सन् २००९ मै हस्ताक्षर एवं अनुमोदन गरेर लागू गरिसकेको अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (सीआरपीडी), २००६ (सन्) मा स्पष्टरूपमा उल्लेख गरिएबमोजिम भौतिक पूर्वाधारहरू पहुँचयुक्त बनाउन, विपद्पूर्वको तयारी एवं अन्य सबै अधिकार संरक्षण एवं संवर्द्धनका निम्ति सबै प्रकारका उपाय अवलम्बन गरेको हुनुपर्ने थियो । त्यस्तै नेपाल सरकार मन्त्रिपरिषद्ले २०६९ सालमै स्वीकृत गरेर लागू गरिसकेको “अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना एवं सञ्चार सेवा निर्देशिका, २०६९” को समेत विभिन्न बहानामा उपेक्षा गरी विभिन्न निर्माण कार्य अघि बढाउँदै लगियो । त्यसको परिणामस्वरूप अपाङ्गता भएका व्यक्तिहरूलगायत अन्य व्यक्तिले समेत बारम्बार सास्ती भोग्नु परिरहेको तीतो यथार्थ हाम्रासामु सजीव नै छ ।

अब भने ती बहाना बनाउने दिनको अन्त्य हुनैपर्छ । देशको महत्वपूर्ण प्रशासनिक भवन सिंहदरबारदेखि थुप्रै सार्वजनिक एवं प्रशासनिक भवन पूर्णरूपले ध्वस्त भएका छन् वा पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेका छन् । त्यस्तै कैयौँ भौतिक संरचना गतिलो मर्मत सम्भारबिना प्रयोगमा ल्याउन सकिने अवस्थामै छैनन् । यसको अर्थ यतिबेला हाम्रा अगाडि एउटा गतिलो मौका खडा भइरहेको छ । यही मौकामा ती धेरै भवनलाई एकातिर भूकम्प प्रतिरोधात्मक बनाउनु छ भने अर्कातिर अपाङ्गता भएका व्यक्तिहरू एवं अन्य नागरिकको समेत पहुँच पुर्‍याउने कुरामा ध्यान दिनुपर्ने छ ।

अब निर्माण हुने सबै प्रकारका भौतिक संरचना (कम्तीमा सार्वजनिक महत्वका) पुनर्निर्माण गर्दा “अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना एवं सञ्चार सेवा निर्देशिका, २०६९” एवं “Universal design” मा व्यवस्था भएबमोजिम गरिनुपर्छ । त्यसको कडाइका साथ अनुगमन गर्ने संयन्त्रसमेत तयार गरी परिचालन गर्नुपर्छ । होइन भने भूकम्प अघि र पछिको अवस्थामा कुनै फरक हुने छैन, जुन हामी सबैका निम्ति दुर्भाग्यकै कुरा हुनेछ ।

अपाङ्गता भएका व्यक्तिहरूलाई सहज हुनेगरी बनाइँदा त्यस्ता संरचना अन्य समुदायका मानिसलाई अप्ठ्यारो पर्ने खालका भए भने के फेरि भत्काउने त भन्ने प्रश्न उठ्न सक्छ । त्यसैले त यो लेखकको धारणा पनि कुनै व्यक्तिविशेष वा समुदायविशेषलाई मात्र ध्यान दिई अथवा केही व्यक्ति वा समुदायलाई मात्र सहज हुनेगरी सार्वजनिक महत्वका संरचनाहरू बनाएका कारणले आज समस्या सिर्जना हुनपुगेको हो भन्ने नै हो ।

फेरि अपाङ्गता भएका व्यक्तिहरूलाई मात्र छुट्टै संरचना बनाउनुपर्छ भन्ने त यो लेखकको आशय पनि होइन । तसर्थ, प्रश्न उठ्न सक्छ कि अब निर्माण गरिने संरचनाहरू कुनै व्यक्ति वा समुदाय विशेषलाई होइन बरु सबैजसो व्यक्ति एवं समूहलाई सहज हुनेगरी “Universal design” बमोजिम तयार गरिनुपर्छ, जुन कुरा विश्वव्यापीरूपमै स्वीकार्य मान्यता हो र त्यसलाई विकसित राष्ट्रहरूले अनिवार्य शर्तका रूपमा लागू गरिसकेका छन् । त्यसो भयो भने अपाङ्गता भएका व्यक्तिहरूलाई समेत सहज हुनेछ । अन्य व्यक्तिहरूलाई समेत अप्ठ्यारो पर्ने त कुरा नै भएन । यसको अर्थ अपाङ्गतामैत्री संरचना बनाउनु नै सबैका निम्ति सहज संरचना बनाउनु हो ।

उदाहरणका निम्ति भवनहरू भूकम्प प्रतिरोधात्मक बनाउँदा, भवनमा सिँढीहरूको सट्टा र्‍याम्पको व्यवस्था गर्दा, बाहिर एवं भित्रसमेत खुला स्थान वा फराकिलो ठाउँको व्यवस्था गर्दा, जोखिमपूर्ण स्थानहरूमा समाउने चिज वा रेलिङको व्यवस्था गर्दा, बाटो वा दिशासूचक सङ्केतहरू राख्दा वा यस्तै अन्य व्यवस्थाहरू गर्दा सबै प्रकारका व्यक्तिलाई सहज हुने कुरामा कसैको दुईमत छैन । त्यो भन्दा बढी त त्यसरी तयार गरिने संरचनाहरूले हामीलाई वर्तमानका जस्ता विपद्‍बाट सहजै छुटकारा पाउन मद्दत गर्नेछन् ।

निकट भविष्यमा गर्नु पर्ने पुनःस्थापना एवं पुनर्निर्माणको प्रक्रियालाई नेतृत्व दिनका निम्ति प्राविधिकहरूसमेत रहेको विपद् व्यवस्थापन प्राधिकरण वा त्यस्तै अन्य कुनै निकाय गठन गर्ने बहस चलिरहेको छ । गठन हुने त्यस किसिमको निकायमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल एवं अपाङ्गताका सम्बन्धमा काम गरिरहेका विशेष प्राविधिकहरूको समेत प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ । यसो गर्दा सहभागिताको सवाललाई प्रवर्द्धन गर्नुका साथै पुनर्निर्माणको प्रक्रियामा अपाङ्गताको सवाललाई बलियो गरी कार्यान्वयन गर्न एवं त्यसको अनुगमन गर्ने प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्न मद्दत मिल्नेछ ।

हाल प्रभावित क्षेत्रहरूमा राहत वितरणको काम चलिरहेको छ । यस परिस्थितिमा अपाङ्गता भएका व्यक्तिहरूसमेत नछुटून् भन्ने अभिप्रायले उनीहरू एवं उनीहरूका आवश्यकताहरूलाई विशेष प्राथमिकतामा राखी काम अघि बढाउनु जरुरी हुन्छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आफ्नो वेबसाइट www.nfdn.org.np मा Emergency appeal प्रकाशन गरेको छ, जसमा राहत वितरण एवं पुनर्निर्माणका क्रममा ध्यान पुर्‍याउनु पर्ने कुराहरूबारे विस्तृतरूपमा उल्लेख गरिएको छ ।

भूकम्पले सिकाएका धेरैमध्ये सिक्नै पर्ने एउटा पाठ के हो भने अपाङ्गता भएका व्यक्तिहरू एवं अन्य जोखिमपूर्ण अवस्थामा रहेका समुदायलाई अचानक हुने विपद्‍बाट पर्ने क्षति न्यूनीकरणका निम्ति कुनै पनि किसिमको पूर्वतयारी गरिएको रहेनछ, जसको परिणामस्वरूप उनीहरू अत्यधिकमात्रमा त्यसबाट पीडित हुनपुगे । यसो नगरिनु विडम्बनापूर्ण कुरा हो । हुन त देशका सबै क्षेत्रमा पूर्वतयारी पर्याप्त नभएका कारण देशले यत्रो क्षति बेहोर्नु परिरहेको कुरा व्यक्त भइरहँदा अपाङ्गता भएका व्यक्तिहरूका निम्ति त्यस्तो तयारी थिएन भन्नु मूर्खतापूर्ण कुरा जस्तो लाग्नसक्छ तर देशमा जति पनि पूर्वतयारीका कार्यक्रमहरू सञ्चालन गरिए ती सबैजसो कार्यक्रमले यस वर्गलाई प्राय समेट्न सकेको देखिएन । फेरि, अप्ठ्यारो भौगोलिक अवस्थिति एवं प्राय भौतिक संरचनाहरू मैत्रीपूर्ण नभएका कारणले समेत थप जटिलता निम्तिन पुगे ।

यस्तो परिस्थितिमा हामी सबैले पाठ सिक्नैपर्छ कि आगामी दिनमा तयार गरिने विपद् व्यवस्थापन पूर्वतयारी, क्षति न्यूनीकरण, पुनःस्थापना एवं पुनर्निर्माणका लागि तयार गरिने योजना एवं तिनको कार्यान्वयनमा अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकतामा राख्न प्रतिबद्ध हुनुपर्ने छ ।

अब अन्त्यमा एक पटक फेरि फर्कौं सुरुको प्रश्न तर्फ । के यो विपद् अपाङ्गता भएका व्यक्तिहरू एवं अन्य जोखिमपूर्ण अवस्थामा जीवन निर्वाह गरिरहेका समुदायका मानिसहरूका निम्तिसमेत अवसरका बाटाहरू पहिल्याउने ढोका बन्न सक्ला? बन्न त सक्ला तर त्यसका लागि सानो प्रयासले पुग्नेछैन । बरु त्यसका निम्ति हामी सबैमा सकारात्मक सोच, दृढ आत्मविश्वास, सही योजना र त्यसको कार्यान्वयन गर्ने कार्यकुशलता र अलिकति भए पनि फरक तरिकाले काम गर्न सक्ने साहस र आँट चाहिँ पक्कै चाहिने छ । अथवा भनौं- अब भूकम्प जानुभन्दा पहिलाको परिपाटीबाट काम गरेर त्यो सम्भव छैन । बरु अब त नयाँ परिस्थितिसँगै नवीनतम काम गर्न नवीनतम सोचसहित अघि बढ्नु आजको आवश्यकता हो । त्यसैमा सबैको भलाइ पनि छ । आउनुहोस् हातेमालो गरेर नयाँ परिस्थितिमा अवसरका बाटाहरू खोज्ने कार्यका निम्ति समन्वय र साझेदारी गरौं ।

bibasbimal@gmail.com

२०७२/०२/११

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.