Accessibility Options


Skip to Navigation Skip to Content
A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.

मनोसामाजिक अपाङ्गता र पुनर्स्थापना

आलेख

मातृकाप्रसाद देवकोटा


सर्वप्रथम मानसिक समस्या, मानसिक अपाङ्गता र मनोसामाजिक अपाङ्गताको तात्विक भिन्नताबारे बुझ्नु जरुरी छ । मानसिक समस्या पहिचान गर्न सकिने, चिकित्सकीय रुपमा थाहा पाउन सकिने अवस्था हो, जसको परिणामस्वरुप कुनै व्यक्तिको सोच, मनस्थिति र व्यवहारमा उल्लेख्य क्षति पुग्छ । मस्तिष्क र मानसिक अङ्गहरुमा आएको समस्या चेतना, स्फूर्ति, स्मरणशक्ति, भाषा, गणना जस्ता बौद्धिककार्य सम्पादनका क्रममा आउने समस्याका कारण उमेर र परिस्थिति अनुसार व्यवहार गर्न नसक्नु तथा बौद्धिक सिकाइमा ढिला हुनुलाई मानसिक अपाङ्गता मानिन्छ ।

मनोसामाजिक अपाङ्गताको अवधारणा भने फरक छ । मनोसामाजिक अपाङ्गताले व्यक्ति र ऊप्रतिको सामाजिक अवधारणालाई जनाउँदछ । यो यस्तो मान्यता हो, जसले कुनै व्यक्तिको जीवन परिस्थितिहरुमा आन्तरिक र बाह्य तत्वहरुले सामान्य बाहेकका अन्य अवस्थाहरुमा व्यक्तिको सहयोग र समायोजनका आवश्यकताहरुमा प्रभाव पार्न सक्छ भन्ने स्वीकार गर्दछ । यस अन्तर्गत सामाजिक, संवेगात्मक, मानसिक र आत्मिक अवस्थाहरु एवं अनुभवहरु पर्छन्, जसलाई अशक्तता भन्न सकिँदैन तर त्यस्ता तत्वले व्यक्तिलाई असक्षम गराइरहेका हुन्छन् ।

हाम्रो देशमा 'मनोसामाजिक अपाङ्गता' शब्दावली अझ पनि नौलो छ । यसलाई गलत तरिकाले बझ्ने एवं कलङ्कको रुपमा लिने गरिन्छ । मनोसामाजिक अपाङ्गता मानसिक बिमारीको समानार्थक होइन तर यसले मानसिक समस्या अनुभव गरेका व्यक्तिहरुलाई समेट्छ । मानसिक समस्या व्यहोरेका जुनसुकै व्यक्तिले दुराग्रह, कलङ्क, विभेद र दुर्व्यवहार भोग्न बाध्य भइरहनुपरेको छ । यस्ता नकारात्मक सामाजिक दृष्टिकोण नै 'मनोसामाजिक अपाङ्गता' शब्दावली प्रयोगको आधार बन्न पुगेको हो ।

मनोसामाजिक अपाङ्गता भएर बाँच्नेहरुलाई निकृष्ट प्राणीको रुपमा व्यवहार गर्दै समाजका सबै पक्षमा अरूहरुसरह समान आधारमा पूर्णत: सहभागी तथा समावेशका लागि अयोग्य ठहर्‍याउने गरिएको पाइन्छ । यस्ता प्रवृत्ति परिवारदेखि समुदायसम्म फैलिएको पाइन्छ । नेपाली समाजमा मनोसामाजिक अपाङ्गतालाई जोसुकैलाई हुन सक्ने समस्याको रुपमा नलिई सामान्यत: व्यक्तिले नियन्त्रण गुमाएको कमजोरीको अर्थमा लिने गरिन्छ । उनीहरुको गुणात्मक स्वास्थ्यको अधिकारलाई प्राथमिकता नदिई व्यक्तिको स्वयं सृजित समस्या र सामाजिक भारको रुपमा हेर्ने गरिन्छ ।

मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुलाई आफ्ना समस्या लुकाउन वा अन्यायलाई चुपचाप सहन बाध्य पारिएको अवस्था छ । नेपालमा मनोसामाजिक अपाङ्गता भएका अधिकांश व्यक्ति खुलेर बाहिर आउन नसकेकै कारण स्वास्थ्य र सामाजिक सुरक्षाको सेवा पाउनबाट बञ्चित भइरहेका छन् ।

प्रत्येक ४ मध्ये १ व्यक्तिमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको विश्‍व स्वास्थ्य सङ्गठनको अनुसन्धानले पुष्टि गरिसकेको छ । मानसिक स्वास्थ्यको संरक्षण एवं प्रवर्द्धनका लागि हाम्रो देशमा सरकारीस्तरका कार्यक्रम पर्याप्त छैनन् । मानसिक स्वास्थ्यबारे जनस्तरमा चेतनाको अभाव छ । मानसिक स्वास्थ्यको उपचार गर्ने सरकारी अस्पताल देशमा एउटैमात्र छ । गाउँ समुदायमा उपचारका लागि अस्पताल र विशेषज्ञको उपलब्धता छैन, नि:शुल्क औषधिको व्यवस्था छैन । अनि देशमा हजारौंको सङ्ख्यामा मानसिक समस्या भएका व्यक्तिहरु उपचारको अभावमा अमानवीय व्यवहार खेप्दै थुनिएर, बाँधिएर वा सडकमा भौंतारिएर हिँड्न बाध्य भएका छन् । यो नै आजको विडम्बनापूर्ण वास्तविकता हो । यस्ता व्यक्तिको स्वास्थ्यको अधिकार, समाजमा सम्मानपूर्ण जीउने अधिकार दिन प्रतिदिन हनन् भइरहेको छ ।

मानसिक स्वास्थ्यसम्बन्धी समस्याका कारण बढीजसो महिला प्रताडित बन्ने गरेका छन् । यसका कारण विस्थापित भएका महिलाहरुको अवस्था ज्यादै जोखिमपूर्ण रहेको छ । गैर सरकारी संस्था कोशिश, राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनको अल्पकालीन सुरक्षित घरमा उपचारका लागि पुर्‍याइएका अधिकांश महिला घरेलु हिंसाका कारण मानसिकरुपमा विक्षिप्त बनेको पाइएको छ । सडकमा भौंतारिन पुगेका त्यस्ता थुप्रै महिलामाथि यौन दुर्व्यवहार भई गर्भवती बनेका र सडकमै बच्चा जन्माएका तथ्याङ्कहरु कोशिशसँग छन् । मानसिक समस्याप्रति उदारवादी सोचको कमी रहेको नेपाली समाजमा उपचारपछि स्वस्थ भएका यस्ता महिलाको पुनःस्थापना हुने सम्भावना एकदमै न्यून पाइएको छ । एकातिर पुनःस्थापनाको चुनौती र अर्कातिर बाबुको पहिचान नभएको बालकको नागरिक अधिकारको खोजीको दोहोरो मारमा परेका छन् यस्ता महिला ।

विविध कारणवश: एकपटक मानसिक समस्या व्यहोर्न पुगेका व्यक्तिहरु उपचारपछि स्वस्थ भए पनि सामाजिक कलङ्कका कारण सामाजिक क्रियाकलापमा खुलेर सहभागी बन्न सकिरहेका पाइँदैनन् । मानसिक समस्याको नियमित औषधि सेवनमा रहेका व्यक्तिहरुलाई पारिवारिक माया, ममता, हेरचाह र सद्‍भावको अत्यन्त आवश्यकता पर्छ । यस किसिमको व्यवहार पाउन सकेमा स्वास्थ्यलाभमा शीघ्रता आउँछ । उनीहरुलाई सीप र क्षमता अनुरुपका क्रियाकलापमा संलग्न गराउन परिवार एवं समाजले सघाउनुपर्छ । मानसिक स्वास्थ्य समस्याको कलङ्क र भेदभावविरुद्ध घर, परिवार र समुदायस्तरबाटै आवाज उठाइनुपर्छ । त्यति भएमात्र यस्ता व्यक्तिहरुको दीर्घकालीन सामुदायिक पुनःस्थापना सम्भव हुन्छ ।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.