Accessibility Options


Skip to Navigation Skip to Content
A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.

सशस्त्र द्वन्द्व, महाभूकम्प र अपाङ्गता भएका व्यक्तिहरूको खेलकुद

आलेख

सेनानी पवन घिमिरे


Pawan Ghimireविपत्ति प्राकृतिक होस् वा अप्राकृतिक, यसको मानवीय परिणाम भने उस्तै उस्तै हुन्छ– मृत्यु वा अपाङ्गता । मरेर जानेहरू त परिवारलाई मात्र पीडा छाडेर जान्छन् तर अपाङ्गता लिएर बाँच्नेहरू स्वयं पीडित त हुन्छन् नै उनका परिवारसमेत पीडामा डुबिरहेका हुन्छन् । जबसम्म उनीहरू पीडामुक्त हुँदैनन् तबसम्म परिवारसमेत पीडामुक्त हुन सक्दैनन् । यस्तो परिवेशमा पीडितहरूका लागि आवश्यक पुनःस्थापना एवं सशक्‍तीकरणसम्बन्धी उचित कार्य गर्नुपर्ने देखिन्छ ।

देश दस वर्षे सशस्त्र द्वन्द्वमा फस्यो । करिब छ हजार मानिसले अपाङ्गता बेहोर्न पुगे । तिनीहरूको पुनःस्थापना राज्यका लागि चुनौती बन्नपुगे पनि उनीहरूले बाँच्न सिके र धेरे खुसीका साथ जीवनयापन गरिरहेका छन् । त्यस्तै गत वैशाख १२ गतेको भूकम्पले देशलाई फेरि प्राकृतिक विपत्तिको अवस्थामा पुर्‍याएको छ । करिब २२ मानिस घाइते भए भने पाँच हजारभन्दा बढी अपाङ्गताको जीवन बिताउन बाध्य भएका छन् । राष्ट्रिय अपाङ्ग महासङ्घका अनुसार, करिब ४०० जनामा इस्पाइनल कर्डको समस्या, ४० ले दुवै खुट्टा गुमाउन पुगेका छन् भने हात, खुट्टा र आँखा गुमाउन पुगेकाहरूको सङ्ख्या पनि धेरै नै रहेको छ । यस्तो अवस्थामा उनीहरूलाई पुनःस्थापना गरेर सामान्य अवस्थामा फर्काउनु परिवार र राज्यलाई समेत चुनौती बनिरहेको अवस्थामा खेलकुद एउटा राम्रो माध्यम बन्नसक्छ ।

खेलकुदले उनीहरूको मानसिक तनाव कम गर्नुका साथै शारीरिक तन्दुरुस्ती कायम गर्ने, उस्तै प्रकारका पीडा भोगिरहेका व्यक्तिहरूलाई एकै ठाउँमा सहभागी गराएर उनीहरूले भोगिरहेका अवस्थालाई समानीकरण गर्ने काम गर्दछ । अस्पतालको उपचारले काम गर्न छाडेपछि बाँकी उपचार खेलकुद तथा योगबाट सम्भव हुनसक्छ । यसको प्रमाण पारा ओलम्पिकको प्रारम्भिक इतिहासबाट लिन सकिन्छ, जुन सन् १९४५ मा दोस्रो विश्वयुद्धमा घाइते अपाङ्गता भएका सैनिकहरूको पुनःस्थापना तथा मानसिक उपचारका लागि सुरु गरिएको थियो । यसरी अपाङ्गता भएका तथा घाइते सैनिकहरूको पुनःस्थापनाका लागि सुरु गरिएको खेल आज पाराखेलको नामबाट विश्‍वभरि प्रशिद्ध छ र पारा ओलम्पिक खेलकुदको नामले अन्तर्राष्ट्रिय प्रतियोगिताहरू पनि अयोजना हुनेगरेका छन् । यस्ता प्रतियोगितामा पदक जित्ने अधिकांश युद्ध, दुर्घटना वा विपद्‍मा परेर अपाङ्गता भएका व्यक्ति नै छन् ।

women using wheelchairs playing basket ball

विगतको सशस्त्र द्वन्द्वमा धेरै नेपाली सुरक्षाकर्मी तथा सर्वसाधारण पनि घाइते भए । अपाङ्गताको अवस्था व्यहोर्न पुगे । हिजोसम्म भाग्य र राज्यलाई सरापेर बस्ने उनीहरू यतिबेला क्रिकेट, बास्केटबल, ताइक्‍वान्दो, पौडी, दौड आदि जस्ता खेलमा रमाइरहेका छन् । खेलमा लागेर बाँच्ने तरिका सिक्नुका साथै उनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकसमेत हासिल गर्न सफल भएका छन् ।

नेपाली सेनाका विक्रमबहादुर राना अपाङ्गता खेलकुद जगतमा सुपरिचित नाम हो । २०६० सालमा माओवादीले थापेको विद्युतीय धरापमा परी उहाँले दुवै आँखा गुमाउन पुग्नुभयो । उहाँ पूर्ण दृष्टिविहीन भए पनि क्रिकेट र दौडका कुशल खेलाडी हुनुहुन्छ । अन्तर्राष्ट्रिय पारा ओलम्पिक प्रतियोगितामा सहभागी भएर दौडमा उहाँले दक्षिण एसियाली कीर्तिमानसमेत राख्न सफल हुनुभएको छ । नेत्रहीन क्रिकेटको विश्वकपमा समेत उहाँले सहभागिता जनाई सक्नुभएको छ । खेलकुदमै लागेर राष्ट्रपति पुरस्कार र रष्ट्रिय खेलकुद पुरस्कार प्राप्त गर्ने उहाँ एक्ला अपाङ्गता भएका खेलाडी हुनुहुन्छ ।
उहाँ भन्‍नुहुन्छ– "अन्धकारमा रुमल्लिएको मेरो जीवनमा खेल खेल्ने अवसर पाएदेखि गुमेका आँखा पुनः प्राप्त भएको जस्तो अनुभव भएको छ । आँखा देख्दा असम्भव जस्तै लाग्ने कति कुरा नदेख्ने भएपछि सम्भव भएका छन् । यसै खेलकुदबाट नाम कमाएको छु । धेरैले चिन्छन् र प्रशंसा गर्छन् । मेरा लागि योभन्दा ठूलो कुरा अरू के हुनसक्छ ?"

२०६१ सालमा हेटौंडामा तत्कालीन माओवादीले थापेको विद्युतीय धरापमा परी स्पाइनल कर्ड (spinal cord) मा चोट लागेर शरीरको तल्लो अङ्ग पूर्णरूपमा नचल्ल्ने हुनुभएका हिमाल अर्याल अहिले बास्केटबलका कुशल खेलाडी हुनुहुन्छ । उहाँको नेतृत्वमा रहेको बास्केटबलले राष्ट्रियस्तरको कुनै पनि प्रतियोगितामा पराजित हुनुपरेको छैन । उहाँ त्रिभुवन आर्मी क्लब अन्तर्गत रहेको ह्‍विलचिअर बास्केटबल टोलीका कप्तान हुनुहुन्छ । भारोत्तोलन, ह्‍विलचिअर नाच र ह्‍विलचिअर क्रिकेटका पनि उहाँ राम्रा खेलाडी हुनुहुन्छ । उहाँको नेतृत्वको नेपाली ह्‍विलचिअर बास्केटबल टोलीले सन् २०१४ मा बङ्गलादेशमा अयोजना गरिएको त्रिदेशीय प्रतियोगितामा सहभागिता जनाइसकेको छ ।

Men using wheelchair playing Basketball

आफ्नो सफलतामा खुशी प्रकट गर्दै उहाँ भन्‍नुहुन्छ– "खेलकुदमा लागेदेखि मैले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन । कोठामा बसेर एक्लै रुनु परेन । शारीरिकरूपमा स्वस्थ पनि छु र देश विदेश घुम्ने अवसर पनि पाएको छु । केही गर्न सकियो भने मानिसको दृष्टिकोणमा पनि परिवर्तन हुँदोरहेछ । परिवारलाई बोझ पनि होइँदोरहेन छ । हिजोसम्म ममाथि हेयको दृष्टि राख्नेहरू नै पनि आज मेरो क्षमताको प्रशंसा गर्छन् ।"

खेलमै रमाएर जीवनलाई सकारात्मकतातर्फ डोहोर्‍याइरहनु भएका अर्का खेलाडी हुनुहुन्छ सुनिल थापा मगर । द्वद्वमा परी एउटा आँखाको पूर्ण र अर्को आँखाको अधिकांश दृष्टि गुमाएका सुनिल नेत्रहीन क्रिकेटका कुशल खेलाडी हुनुहुन्छ । सेनाको नेत्रहीन क्रिकेट टोलीको प्रतिनिधित्व गर्दै राष्ट्रिय र क्षेत्रीय प्रतियोगिताहरूमा सम्मिलित भइसक्नुभएको छ । उहाँ भन्‍नुहुन्छ– "क्रिकेटमा सहभागी हुनुभन्दा अगाडि जीवन तनावमय थियो । काम केही थिएन । मनमा नकारात्मक सोचभन्दा अरू केही आउँदैन थियो तर अहिले जीवनमा नयाँ उर्जा पलाएको छ ।"

हीरामणि पोखरेल एउटा हात र एउटा आँखा गुमेका पारा ताइक्‍वान्दो खेलाडी हुनुहुन्छ । उमेर चालिस वर्षको हाराहारीका उहाँ हालसालैमात्र पारा ताइक्‍वान्दोमा सम्मिलित हुनुभएको हो । सन् २०१४ मा चीनमा सम्पन्न पारा ताइक्‍वान्दो च्याम्पियनसिपमा उहाँको सफल सहभागिता भइसकेको छ । आफ्नो सफलतामा सन्तुष्टहुँदै उहाँ भन्‍नुहुन्छ– "म जस्तै अपाङ्गता भएका सेनाका साथीहरू खेलकुदमा लागेर परिवर्तन भएको देखेर मलाई पनि खेल्न मन लाग्यो । पारा ताइक्‍वान्दो प्रशिक्षणमा सहभागी भएँ । साच्‍चै नै खेलकुदमा निकै ठूलो शक्ति हुँदोरहेछ । हामीजस्ता घाइते व्यक्तिहरूको पुनःस्थापना र सशक्तीकरणका लागि खेलकुद राम्रो माध्यम रहेछ ।"

यस खेलमा उहाँसँगै नेपाली सेनाका एउटा हात गुमाउनुभएका जमदार चिन्तामणि पनि सहभागी हुनुहुन्छ । उहाँ पनि हीरासँगै चीनको प्रतियोगितामा सहभागी हुनुभएको थियो ।

घरपछाडि बारीमा भेट्टाएको अपरिचित वस्तु खेलाउँदा दृष्टि गुमाउन पुगेका कलिकोट जिल्लाको चिलखायका आनन्दराज पाण्डे पनि क्रिकेट खेलाडी हुनुहुन्छ । काठमाडौंको कीर्तिपुरमा रहेको ल्याबेरोटरी स्कुलमा कक्षा ९ मा अध्ययन गर्दै गरेका उहाँलाई साथीहरूले क्रिकेटर भनेर बोलाउँदा निकै खुशी लाग्छ । कालिकोटको जिन्दगीभन्दा शिक्षाको र क्रिकेटको अवसरले उहाँको जिन्दगी निकै आनन्ददायी बनिरहेको छ ।

यी केही उदाहरणमात्र हुन्, खेलकुदमा लागेर जीवनलाई सकारात्मकतातर्फ डोर्‍याइरहेका घाइते सैनिक तथा नागरिकका । त्यस्तै, दृष्टिविहीन सिपाही सुरेन्द्र तामाङ पौडीका, अमल्दार भरत थापा नेत्रहीन क्रिकेटका साथै दौड र पौडीका राम्रा खेलाडी हुनुहुन्छ भने सेनाका राजु कटुवाल र नारायण दवाडी ह्‍विलचिअर, बास्केटबलमा अग्रणीस्थानमा हुनुहुन्छ । नेपाल प्रहरीका सई किशोर साही इस्पाइनल कर्ड खेलकुद सङ्घका अध्यक्ष भएरै काम गरिरहनु भएको छ ।

गत वैशाख १२ गते भूकम्प र त्यसपछिको पराकम्पनबाट अपाङ्गता हुनपुगी उपचार सकेर अब के गर्ने भन्‍न अन्योल र मानसिक तनावमा रहेका घाइतेहरूका लागि खेलकुद एउटा राम्रो विकल्प बन्नसक्छ । शारीरिक अङ्ग गुमेका व्यक्तिहरूको मानसिक तनावले गर्दा उनीहरूको जीवन निकै कष्टकर बन्दै गइरहेको छ । यस्तो अवस्थामा सहयोग र साथ नदिने हो भने जीवनले नकरात्मक मोड लिन पनि सक्छ ।

पीडितहरूलाई उनीहरूको शारीरिक अवस्था अनुसारको क्षमता पहिचान गराउन सकियो भने अपाङ्गता प्रगतिको अवसर पनि बन्‍नसक्छ र आफूलाई बेकार लाग्ने जीवन हाम्रो समाज र राष्ट्रका लागि अमूल्य गहना पनि साबित हुनसक्छ । यस्ता व्यक्तिहरूको पुनःस्थापना र सामान्य जीवनमा फर्केर तनावमुक्त हुन उनीहरूलाई व्यस्त राख्नुपर्ने हुन्छ । यस्तो अवस्थामा खेलकुद राम्रो साथी बन्नसक्छ ।

A blind cricket player getting medal

नेपालमा पारा ‌ओलम्पिक खेलकुद सङ्घ, नेत्रहीन क्रिकेट, पारा ताइक्‍वान्दो, पारा एथलेटिक, इस्पाइनल खेलकुद सङ्घ, बहिरा क्रिकेट सङ्घ जस्ता संस्था क्रियाशील छन् । यी संस्थाले सामान्य किसिमका खेलकुद गतिविधि सञ्‍चालन गर्नेमात्र नभई भूकम्प र दुर्घटना आदिबाट अपाङ्गता बेहोरेका व्यक्तिहरूलाई लक्ष्य गरी पुनःस्थापनसम्बन्धी खेलकुद गतिविधि सञ्‍चालन गर्नु आजको आवश्यकता महशुस गरिएको छ । यसतर्फ राज्यको पनि ध्यान आकर्षण हुनुपर्ने देखिन्छ । चाहे त्यो भूकम्प जस्तो प्रारकृतिक विपद् होस् वा विगतको जस्तो दस वर्षे द्वन्द्व नामक मानव सिर्जित अप्राकृतिक विपद्, परिणाम उस्तै उस्तै हुन्छ । जसरी दस वर्षे सशस्त्र द्वन्द्वका घाइते अपाङ्गता भएका व्यक्तिहरूले खेलकुदलाई समातेर जीवनलाई सामान्य अवस्थामा फर्काउनुमात्र नभई क्रियाशीलसमेत बनाएर सफलता हात पारिरहनुभएको छ, यही कुरालाई अनुसरण गर्नसके भूकम्पबाट अपाङ्गता बेहोर्न पुगेका व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन आई जीवन फेरि सामान्य र सक्रियतातर्फ अघि बढ्नसक्छ ।

यस अंकका अन्य सामाग्री पढ्नका लागी विषयसुचीमा फर्कनुहोस्।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.