Accessibility Options


Skip to Navigation Skip to Content
A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.

जागिर खोज्दै हुनुहुन्छ ? सही तरिकाले खोजी गर्ने हो भने जागिर पाउन सकिन्छ

फिचर

विशाल दाहाल


Bishal Dahal

जागिर रोजगारीलार्इ जनाउने प्रचलनमा रहेको शब्द हो । जीवन निर्वाहका लागि गरिने काम नै जागिर अथवा रोजगारी हो । यो धेरैको आवश्यकता र थोरैको रहर हुनेगर्छ । सही तरिकाले खोजी गर्ने हो भने जागिर पाउन सकिन्छ । अवसर र चुनौती उत्तिकैरूपमा रहेका हुन्छन् र सकारात्मक रहँदै तीव्र इच्छाशक्ति र लगाबका साथ हरेक चुनौतीलाई अवसरमा परिणत गर्न सकिन्छ । अपाङ्‍गता भएका व्यक्ति, जो रोजगारीका खोजीमा हुनुहुन्छ, उहाँहरूमा पनि यो कुरा लागू हुन्छ । सबैभन्दा पहिला छलफल गरौं अपाङ्‍गता भनेको के हो ?

अपाङ्‍गता भएका व्यक्तिहरूको अधिकार-सम्बन्धी महासन्धि, सन् २००६ (UNCRPD) को परिभाषालाई हेर्ने हो भने अपाङ्‍गता व्यक्तिको शारीरिक, मानसिक वा इन्द्रीयजन्य विचलन र वातावरणमा हुने अवरोधहरूबीचको अन्तरक्रियाबाट उत्पन्न अवस्था हो । यसबाट के स्पष्ट हुन्छ भने व्यक्तिले कुनै काम गर्न सक्ने वा नसक्ने भन्ने कुरा उसको शारीरिक वा मानसिक अवस्थामा मात्र निर्भर नरही बाह्‍य वातावरणमा हुने सहज तथा असहज परिस्थितिले समेत निर्धारण गर्ने रहेछ ।

a person in a wheelchair at his workdesk

त्यसो भए रोजगारी खोज्ने व्यक्तिले आफ्नो शारीरिक वा मानसिक अवस्थालाई मात्र दोष दिएर बस्नु नहुने रहेछ । त्यसैगरी, रोजगारदाता वा समाजका अन्य व्यक्तिले पनि यो कुरा बुझ्नु जरुरी भयो कि कुनै व्यक्ति अपाङ्‍गता भएको हुँदैमा उसले केही गर्न सक्दैन भन्ने होइन । बरु उसले काम गर्न सक्नेखालको वातावरण वा परिस्थिति सिर्जना गरिदिन सके उसको अपाङ्‍गताले काम गर्न रोक्दोरहेन छ ।

बजारको ज्ञान

रोजगारी प्राप्त गर्न सबैभन्दा पहिले बजारको ज्ञान हुनु आवश्यक हुन्छ । विभिन्न उद्योग तथा कलकारखाना र ती अन्तर्गत हुने कामसम्बन्धी विभिन्न प्रकारका ज्ञानले जागिर खोज्न र आफैंले कुनै उद्योग सञ्‍चालन गर्न पनि मद्दत गर्छ । अहिले केही अपाङ्‍गता भएका साथी शिक्षक छन् भने शिक्षण पेशामात्र गर्न सकिन्छ भन्ने मानसिकता रही आएको छ । विभिन्न प्रकारका कामको जानकारीले आफूलार्इ चाहिने सीप प्राप्त गर्न वा आफूभित्र निहित सीप पहिचान गर्न मद्दत पुग्छ । यो तरिका अपनाउँदा बजारमा कतिथरीका रोजगारी र रोजगारदाता रहन्छन् भन्ने थाहा हुन्छ ।

training program for deaf person

जागिर खोज्ने व्यक्तिलाई योजना, सङ्‍गठन, समन्वय र नियन्त्रण जस्ता कुराको ज्ञान हुनु पनि जरुरी छ । विभिन्न संरचना र पहुँचयुक्त पाठ्यक्रमका अभावले विभिन्न अपाङ्‍गता भएका व्यक्तिहरूले शिक्षा शास्त्र (Education), कला (Arts) जस्ता पाठ्यक्रममा सिमित हुनुपरेको छ । यहाँनेर अवसर पनि छ । व्यवस्थापनका बारेमा अध्ययन र अभ्यास गरेर यस विषयमा सीप आर्जन गर्न सकिन्छ । अरू विषय पढेकाले व्यवस्थापन विषय पनि पढ्नुपर्छ भन्ने छैन । रोजगारदाताले हेर्ने भनेको नाफा–नोक्सान हुनेगर्छ । उनीहरूले जसबाट आफूलार्इ फाइदा हुन्छ, उसैलार्इ रोजगारीमा राख्छ । त्यसका लागि रोजगारीको खोजीमा रहेका व्यक्तिले आफूलार्इ सीप, ज्ञान र योग्यताले सक्षम बनाउनु जरुरी छ ।

विभिन्न कामको ज्ञान भएपछि त्यसपछि रोजगारी खोज्ने व्यक्तिसँग दुईवटा बाटो रहेका हुन्छन्– जागिर खाने वा आफ्नै व्यवसाय गरेर अरूलाई रोजगारी दिन सक्ने बनाउने ?

सीप र दक्षताको पहिचान

आफूसँग रहेको सीप र दक्षता पहिचान गर्न सक्नुपर्छ । आधारभूत सीप अन्तर्गत सञ्‍चारको सीप, सूचनाको व्यवस्थापन, सोच्ने र समस्या समाधान गर्ने सीप पर्छन् । त्यसैगरी, वैयक्तिक व्यवस्थापन सीप अन्तर्गत सकारात्मक सोच र व्यवहार प्रदर्शन गर्नु, जिम्मेवार बन्नु, अनुकूलित बन्नु, सुरक्षितरूपले काम गर्नु, समूहमा काम गर्ने जस्ता सीप पर्छन् । सबैखाले काम गर्दा यस्ता सीप आवश्यक पर्छन् तथापि यी सीप प्रशासनिक कामका लागि बढी प्रयोग हुनेगर्छन् ।

group discussion about skills of persons with disabilities

अर्कोखालको सीप चाहिं प्राविधिक सीप हुन्छ, जुन तालिमबिना सम्भव छैन । व्यावसायिक तालिम जस्तैः सिलाइ–बुनाइ, मालाबुन्ने, मैनबत्ती बनाउने जस्ता तालिम यस अन्तर्गत पर्छन् । यस्ता तालिम विभिन्न संस्थाले दिने गर्छन् ।

यतिबेला धेरैखाले तालिमका कार्यक्रम सञ्‍चालन नभएका पनि होइनन् तर ती तालिम कार्यक्रम त्यति व्यावहारिक वा व्यावसायिकरूपमा भएका पाइँदैनन् । बजारमा रोजगारीको माग अनुसारका तालिमभन्दा पनि जे तालिम चलिआएका छन्, तिनैलाई नै निरन्तरता दिनेगरेको पाइन्छ । अपाङ्‍गता भएका व्यक्तिहरूका लागि निश्‍चित रोजगारी वा कामहरूमात्र हुनसक्छन् भन्‍ने अभ्यास पाइन्छ । त्यसो नभर्इ समयका साथै बजारको माग अनुसार प्रविधिलाई पनि जोडेर तालिम दिन सकियो भने त्यस्ता सीप भएका व्यक्तिहरूलार्इ सीप अनुसारको रोजगारी पाउन सजिलो हुन्छ ।

a person working in his office

सीपसँग सँगै एउटा रोजगारदाताले आफ्नो कर्मचारीबाट के-के अपेक्षा राखेको हुन्छ भन्ने पनि जानकारी राख्नुपर्ने हुन्छ, जसलाई कार्यसम्पादन सूचकाङ्क भनिन्छ । कामसम्बन्धी ज्ञान, गुणस्तर र सङ्‍गठन, विश्‍लेषणात्मक क्षमता, योजना र निर्णय क्षमता, नेतृत्व गर्ने क्षमता, जिम्मेवारीको बोध, समूहमा मिलेर काम गर्ने क्षमता, समयसीमाभित्र काम सम्पन्न गर्ने कार्यकुशलता जस्ता कार्यसम्पादन सूचकाङ्कहरूबारे राम्रो जानकारी हुनु जरुरी छ । त्यसैगरी, सुमधूर सम्बन्ध कायम गर्ने क्षमता, स्रोतको उच्‍चतम प्रयोग गर्ने सीप, विश्‍वसनीयता, गोपनीयता, काममा अनुशासित एवं नियमित जस्ता सूचकाङ्कसमेत महत्वपूर्ण हुन्छन् ।

वैयक्तिक विवरण एवं निवेदनको तयारी

आफ्नो सीप पहिचान भइसकेपछि वैयक्तिक विवरण (Bio-Data) बनाउनुपर्छ । त्यसमा आफ्नो पहिचान खुल्ने जानकारी, योग्यता, काम वा स्वयंसेवा वा Internship गरेको अनुभव, तालिमबाट प्राप्त सीपहरू र अन्य क्षमताबारे पनि लेख्नुपर्छ । अन्त्यमा आफ्नो काम जानेको र आफूलाई राम्रोसँग जानेको व्यक्तिका बारेमा पनि उल्लेख गर्न सकिन्छ, जसलाई personal Reference भनिन्छ । वैयक्तिक विवरणलाई आकर्षक बनाउन विभिन्न तरिका अपनाउन सकिन्छ ।

वैयक्तिक विवरणसँगै धेरैजसो ठाउँमा आवेदन (Cover Letter) समेत बुझाउनुपर्ने हुन्छ । यस्तो आवेदनमा मिति, सम्बोधन र कार्यक्रमको नाम, ठेगाना र विषयसँगै आफू कामको लागि किन योग्य छु भन्‍ने पनि लेख्नुपर्छ । विज्ञापनमा माग गरेबमोजिमका सबै आवश्यकता पुग्छ भनेर प्रमाणित गर्नुपर्ने हुन्छ । त्यसका पनि विभिन्न स्वरूप रहेका हुन्छन् । यो एक पेजमा मात्र लेख्नु राम्रो हुन्छ । तयार गरेर राखिएको वैयक्तिक विवरण एवं आवेदनमा जागिरको आवश्यकता अनुसार थपघट वा अद्यावधिक गर्न सकिन्छ ।

त्यसपछि जागिर खोज्ने क्रम सुरु हुन्छ । रोजगारदाताले आफूलार्इ चाहिने जनशक्ति खोज्न प्रायः सूचना निकाल्ने गर्दछन् तर सधैं त्यस्तो नहुन पनि सक्छ । आन्तरिक तरिकाबाट चाहिएको योग्यताको व्यक्ति छान्ने प्रचलन पनि पाइन्छ । जागिर खोज्ने केही वेबसाइट पनि रहेका छन् । इन्टरनेटका माध्यमबाट आवेदन दिंदा आफ्नो आर्इडी बनाएर सबै जानकारी त्यसैमार्फत पठाइन्छ भने इमेलबाट पनि सम्बन्धित संस्थाको ठेगानामा तोकिएको मितिभित्र पठाउन सकिन्छ । विज्ञापन प्रकाशन नगरिएको सन्दर्भमा भने आफ्ना कागतपत्रहरूलाई खामबन्दी गरेर सम्बन्धित संस्था वा विभागमा छाड्न पनि सकिन्छ ।

कार्यविवरणबारे जानकारी

जागिरको खोजी गर्नुभन्दा अगाडि त्यसमा के-के काम गर्नुपर्ने हुन्छ भनेर जान्नु एकदम जरुरी हुन्छ, जसलाई कार्यविवरण (Job Description) भनिन्छ । यस्तो कार्यविवरण प्रायः प्रकाशित विज्ञापनमा उल्लेख गरिएको हुन्छ । कार्यविवरणमा दिइएका जानकारी एकपछि अर्को गर्दै बुझ्नुपर्ने हुन्छ । त्यसमा उल्लेखित कामहरू कसरी गर्न वा सिक्न सक्छु भनेर हेर्नुपर्ने हुन्छ । त्यसमा माग गरिएका आवश्यकताहरू धेरै आफूले गर्न सक्नेखालका हुन्छन् तर त्यसलाई बुझ्न नसकेर धेरैजना जागिरै खान नसकिने निष्कर्षमा पुग्नेगरेको पनि पाइन्छ तर यस्तो विचारमा परिवर्तन गर्नु जरुरी छ ।

जागिर खोज्ने प्रक्रियाका बारेमा जानकारी प्राप्त भइसकेपछि रोगजारीका लागि पहल गर्नुभन्दा पहिला म यो कारणले रोजगारीका लागि सक्षम छु । मेरो सीमितता (कमी कमजोरी) र त्यसका लागि आवश्यक सहयोगी कुराहरू यी हुन् भन्ने कुराहरूसहित जागिरका लागि आवेदन (निवेदन) दिन अघि बढ्नु उपयुक्त हुन्छ ।

रोजगारी खोज्ने व्यक्तिले कामलाई सम्मान गर्दै ठूलो र सानो नभन्नु उपयुक्त हुन्छ । हाम्रो देशमा एउटै रोजगारीका लागि धेरै जनाले आवेदन दिने भएकाले पाइएको काम गरिहाल्नुपर्ने अवस्था पनि हुनसक्छ । विज्ञापन गरिएको पदका लागि चाहिने योग्यता रोजगारीको खोजीमा रहेका व्यक्तिको योग्यतासँग केही नमिलिरहेको पनि हुनसक्छ । यति हुँदाहुँदै पनि धेरै कुरा मिल्छ भने आवेदन दिन सकिन्छ ।

सामान्यतया धेरैजनाको वैयक्तिक विवरणमा विभिन्न तालिमहरू उल्लेख गरिएको पाइए पनि व्यावहारिकरूपमा ती तालिमको प्रयोग गर्न भने खाँसै नसकेको देखिन्छ । तालिममा सिकेका कुराको प्रयोग कसरी गर्ने भन्ने कुरा सोच्नु जरुरी छ । कतिपय तालिम धेरै पहिला लिएका हुन्छन् र सम्झना पनि नरहन सक्छ । तसर्थ, आफूले लिएका तालिममा सिकेका कुरा व्यवहारमा ल्याउन सक्नुपर्छ ।

निष्कर्ष

कुनै पनि जागिर पाउनका लागि सकारात्मक रहनु जरुरी छ । आजको रोजगारी बजारमा अंग्रेजी भाषा र कम्प्युटरसम्बन्धी सीप हासिल गर्नु अनिवार्य जस्तै भइसकेको छ । हामीलाई अवसर दिनुहोस्, हामी यसरी गरेर देखाउँछौं भनेर अघि बढ्नु जरुरी छ ।

धेरै रोजगारदाताले अपाङ्‍गता भएकै कारणले मात्र जागिरमा नलगाउने होइनन् बरु उनीहरूलाई सीप र गुणस्तरीय कामको बढी चासो रहन्छ । त्यस्तै, कतिपय रोजगारदातामा रहेको अपाङ्‍गता-सम्बन्धी नकारात्मक जानकारी वा अज्ञानका कारणले त्यसो हुनजान्छ । तसर्थ, अपाङ्‍गता भएका व्यक्तिहरूले पनि विविध क्षेत्रमा सफलता-पूर्वक गुणस्तरीय काम गरिरहेका उदाहरण रोजगारदाताहरूसम्म सञ्चारका विभिन्न माध्यमबाट व्यापकरूपमा पुर्‍याउनु पनि उत्तिकै जरुरी छ ।

रोजगारी कसरी र कहाँ खोज्ने भन्‍ने कुरालार्इ राम्ररी बुझेर अगाडि बढ्नुपर्ने हुन्छ । त्यसका लागि रोजगारीमा रहेका, रोजगारीका बारेमा परामर्श दिने व्यक्ति वा संस्थाबाट तालिम वा परामर्श लिनु उपयोगी हुन्छ ।

(लेखक राष्ट्रिय अपाङ्‍ग महासङ्घ नेपाल केन्द्रीय कार्यालयमा Work Placement Coordinator पदमा कार्यरत हुनुहुन्छ । वहाँलाई placement@nfdn.org.np मा सम्पर्क गर्न सकिन्छ।)

 

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.