Accessibility Options


Skip to Navigation Skip to Content
A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.

आत्मनिर्भतातर्फ उन्मुख श्यामलाल

लेख

दामोदर रिजाल


Damodar Rijal

मोरङ जिल्लाको बयरवन– १, तल्लो हरकपुरका श्यामलाल खवास शारीरिकरूपमा अपाङ्‍गता भएका व्यक्ति हुनुहुन्छ । उहाँ यतिबेला सफल व्यवसायीका परिचित हुनुभएको छ । श्रीमती र छोराछोरीसहित उहाँको छ जनाको परिवार छ । त्यो परिवारको आम्दानीको मुख्य स्रोत भनेको उहाँकै पेशा हो ।

उहाँको घर अगाडि सानो घुम्ती पसल छ । त्यहाँ सामान झकिझकाउ छन् । उहाँ साइकल मर्मतको काम गर्नुहुन्छ । साइकल मर्मत मुख्य पेशा भए पनि उहाँ बहुप्रतिभाशाली हुनुहुन्छ । माटा र सिमेन्टका आकर्षक मूर्ति बनाउने, पेन्टिङ गर्नेलगायतका काममा उहाँ अब्बल मानिनुहुन्छ । मूर्ति प्रतिगोटा दुई हजार रुपियाँसम्ममा बिक्री हुने र ब्यानर लेख्ने काममा पनि स्थानीयस्तरमा आफूलाई बोलाउने गरेको श्यामलालले जानकारी दिनुभएको छ । पूर्वाञ्‍चलका विभिन्न ठाउँमा भएका हस्तकला प्रदर्शनीमा पनि उहाँले पटक पटक प्रथम पुरस्कार तथा प्रमाणपत्रहरू हात पार्नुभएको छ । उहाँको घरमा ती प्रमाणपत्र लाइन मिलाएर राखिएको देख्न सकिन्छ ।

श्यामलालको आफ्नो सानो घरमात्र छ, अन्य जग्गा जमिन छैन । दुई वटा बाख्रा पाल्नुभएको छ उहाँहरूले । सात महिनायतामात्र साइकल मर्मतको पसल सुरु गर्नुभएका श्यामलाल पहिले मूर्ति बनाएर बिक्री गरेर गुजारा टार्ने गर्नुहुन्थ्यो । साइकल मर्मतसम्बन्धी सम्पूर्ण काम राम्रोसँग गर्न जान्ने उहाँलाई दैनिक कामले भ्याइ नभ्यार्इ हुन्छ । लठ्ठीको साहाराले मात्र हिडडुल गर्न सक्ने श्यामलालको दैनिक आम्दानी ५०० रुपियाँसम्म हुनेगरेको छ । विभिन्न समूहमा गरी मासिक ६०० रुपियाँ बचत गर्नुहुन्छ ।

राष्ट्रिय अपाङ्‍ग महासङ्घ नेपालबाट व्यवसाय सञ्‍चालनका लागि १५ हजार रुपियाँ सहयोग पाएपछि उहाँको व्यवसायले गति लिनथालेको हो । दैनिक आम्दानीबाट खान लाउन पुगे पनि साइकल मर्मतका सामग्रीहरू पर्याप्त खरिद गर्न नसक्दा उहाँले कतिपय ग्राहकलाई फिर्ता पठाउने गर्नुपरेको थियो । सम्पूर्ण सामान आफैंसँग भएपछि उहाँका ग्राहकलाई अन्य पसलमा पठाउनु नपर्ने अवस्था सिर्जना भएको छ । उहाँ गर्वका साथ भन्नुहुन्छ– "अपाङ्‍गता भएका व्यक्तिहरूको समूह बयरवनमा आबद्ध भएकै कारण समूहको सिफारिसमा महासङ्घका तर्फबाट मैले आर्थिक सहयोग प्राप्त गरें । यो मेरा लागि खुशीको कुरामात्र होइन, यसले अझ दिलोज्यान दिएर काम गर्ने हौसला र प्रेरणासमेत मिलेको छ ।"

उहाँ आफू जस्तै व्यवसाय गर्न चाहने तर आर्थिक अभावका कारण समस्या व्यहोरिरहेका ग्रामीण क्षेत्रमा रहेका अन्य अपाङ्‍गता भएका व्यक्तिहरूलाई पनि महासङ्घले सहयोग गरी आत्मनिर्भर बन्न प्रेरित गर्नुपर्ने धारण व्यक्त गर्नुहुन्छ ।

शारीरिकरूपमा अपाङ्‍गता भएका र आत्मनिर्भर श्यामलाल खवास अपाङ्‍गतालाई समस्याको रूपमा होइन अवसरको रूपमा लिनुपर्छ भन्ने उदाहरण हुनुहुन्छ । अपाङ्‍गता भएका व्यक्तिहरूको क्षमतामा विश्‍वास नगर्ने तथा पारिवारिक र सामाजिक बोझका रूपमा अपाङ्‍गतालाई हेर्ने हाम्रो परम्परागत परिपाटीलाई अवसर पाए उनीहरूले जे पनि गर्न सक्छन् भन्ने यस्ता उदाहरणले गतिलो जवाफ दिनेगरेका छन् ।

 

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.