Accessibility Options


Skip to Navigation Skip to Content
A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.

अपाङ्गता भएका व्यक्तिहरूको २५ औँ अन्तर्राष्ट्रिय दिवस आयोजना

गतिविधि


"हासिल गरौँ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौँ हामीले चाहेको भविष्य" भन्ने मूल अन्तर्राष्ट्रिय नाराका साथ विश्वभरि अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस ३ डिसेम्बरमा मनाउने प्रचलन रही आएको छ । यसै सन्दर्भमा नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी यो दिवस मनाइएको छ ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको नेतृत्वमा गठन गरिएको अपाङ्गता दिवस मूल समारोह समितिको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासङ्घको संयोजकत्वमा काठमाडौँमा बिहान ८:३० बजे भृकुटीमण्डपबाट वृहत र्याली आयोजना गरियो ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका निमित्त सचिव शंकरप्रसाद पाठकले उद्‌घाटन गर्नुभएको र्यालीमा विभिन्न मन्त्रालयका प्रतिनिधि, अपाङ्गता भएका व्यक्तिका संस्थाका प्रतिनिधि, अपाङ्गता अधिकारकर्मी, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका साथै दातृ संस्थाका प्रतिनिधि, मानव अधिकारकर्मी, विद्यार्थी, शिक्षक, बुद्धिजिवी, समाजसेवी, पत्रकार, राजनीतिक दलका नेता, सांसद, अपाङ्गता भएका व्यक्तिहरू र सर्वसाधारण गरी दुर्इ हजारभन्दा बढीको सहभागिता थियो ।

अपाङ्गता भएका व्यक्तिहरुको २५ ‌‍‍औ अन्तराष्ट्रिय दिवसमा भएको प्रभातफेरी कार्यक्रम

तस्विरः अपाङ्गता भएका व्यक्तिहरुको २५ ‌‍‍औ अन्तराष्ट्रिय दिवसमा भएको प्रभातफेरी कार्यक्रम

अपाङ्गता अधिकारसम्बन्धी विभिन्न नारा र नारा लेखिएका व्यानरका साथै प्लेकार्डसहित निस्किएको र्याली भृकुटीमण्डप, पद्मोदय मोड, पुतलिसडकहुँदै पुन: भृकुटीमण्डपमा पुगी मूल समारोहमा परिणत भएको थियो ।
मूल समारोहको अध्यक्षता राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा स्वास्थ्यमन्त्री गगनकुमार थापा हुनुहुन्थ्यो ।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा व्यवस्थापिका संसद् सदस्य उषा गुरूङ र कान्ता भट्टराई र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका निमित्त सचिव शंकरप्रसाद पाठक रहनुभएको थियो । यसैगरी, अतिथिहरूमा अन्तर्राष्ट्रिय गैर सरकारी निकायहरू ए.आर्इ.एन. अपाङ्गता कार्य समूह, माइराइट्स, डी.पी.ओ.डी. डेनमार्क, एफ.एफ.ओ. नर्वे, सी.बी.एम., एन.एल.आर. र ए.एस.बी. का प्रतिनिधि, नेपाली काँग्रेस, नेकपा एमाले, एनेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अपाङ्गताको सवाल हेर्ने भातृ संस्थाका प्रतिनिधि, केन्द्रीय बालकल्याण समितिका अध्यक्ष, अपाङ्गताका विभिन्न वर्गलाई प्रतिनिधित्व गर्ने वर्गीय संस्थाका प्रतिनिधिहरू रहनुभएको थियो ।

बहिरा व्यक्तिहरूको साङ्केतिक भाषामा समेत नेपालको राष्ट्रिय धुन बजाएर सुरू गरिएको कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव विष्ण प्रसादले अपाङ्गता भएका व्यक्तिहरूको २५ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देश महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका उपसचिव भरतराज शर्माले पढेर सुनाउन भयो ।
कार्यक्रमको उद्‌घाटन प्रमुख अतिथि स्वास्थ्यमन्त्री गगन थापाले गर्नुभयो भने स्वागत मन्तव्य महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका उपसचिव भरतराज शर्माले गर्नुभयो । प्रमुख अतिथिको आसनबाट मन्त्री थापाले अपाङ्गता भएका व्यक्तिहरूका अधिकारहरूप्रति स्वास्थ्य मन्त्रालयको मुख्य जिम्मेवारी रहेको बताउँदै यस विषयमा परिणाममुखी कामहरू गर्न चाँडै नै तीन सदस्यीय विज्ञहरूको सुझाव समिति गठन गरी १५ दिनभित्रै तत्काल गर्नु पर्ने र दीर्घकालमा गर्नु पर्ने कामहरूलाई वर्गीकरण गरी काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमममा माइराइट्स स्वीडेनका प्रतिनिधि हानेस जुलिन लाग्रेस लियसले नेपालमा अपाङ्गताको अधिकारमुखी आन्दोलन निकै अगाडि बढेको, नेपालको संविधान अपाङ्गताको परिप्रेक्षबाट निकै समावेशी भएको र सरकार र गैर सरकारी निकायहरूले सँगै मिलेर यसरी काम गरेको विश्वलाई नै उदाहरणीय भएको बताउँदै नेपालको अपाङ्गता अधिकार आन्दोलनको निकै प्रशंसा गर्नुभयो ।

अध्यक्षको आसनबाट राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष तथा मूल समारोहका अध्यक्ष सुदर्शन सुवेदीले शहरी क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूका लागि केही सेवा–सुविधा उपलब्ध भएको जस्तो देखिए पनि गाउँ र दूरदराजमा अझै पनि अपाङ्गता भएका व्यक्तिहरूको अवस्था असाध्यै दयनीय रहेको कुरा हुँदा अबको दुई वर्ष राष्ट्रिय अपाङ्ग महासङ्घले आफ्नो पैरवी अभियानलाई गाउँ र जिल्ला केन्द्रित गरेर महा अभियानको रूपमा सञ्चालन गर्ने उद्घोष गर्नुभयो ।

अन्तराष्ट्रिय दिवसमा सहभागीहरु

तस्विरः अन्तराष्ट्रिय दिवसमा सहभागीहरु

राष्ट्रिय अपाङ्ग महासङ्घका महासचिव राजु बस्नेतले सञ्चालन गर्नुभएको मूल समारोहको समापनपछि अपाङ्गता भएका व्यक्तिका प्रतिभा प्रष्फुटन गराउन विविध सांस्कृतिक कार्यक्रम आयोजना गरियो । सांस्कृतिक कार्यक्रममा होचा पुड्का, ह्वीचियर प्रयोगकर्ता कलाकारहरूले नृत्य प्रदर्शन गरे भने बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूले वाद्यवादनको कार्यक्रम प्रस्तुत गरे ।
त्यसै दिन काठमाडौँबाहेक देशका विभिन्न जिल्लामा महिला, बालबालिका कार्यालय र स्थानीय अपाङ्गता भएका व्यक्तिहरूका संस्थाहरूको संयुक्त पहलमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरिए । अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार प्रवर्द्धन गर्न, उनीहरूका अधिकारहरूका बारेमा जनमानसमा चेतना फैलाउन र उनीहरूको पहिचान, आत्मसम्मान र स्वाभिमानलाई विश्वभरि उठाउन सन् १९९२ देखि अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो ।
संयुक्त राष्ट्रसङ्घले सन् १९९२ मा डिसेम्बर ३ लाई अन्तर्राष्ट्रिय अपाङ्गता अधिकार दिवसको रूपमा घोषणा गरेपछि यो दिवस मनाउन थालिएको हो । हालसम्म विश्वभरि यस दिन विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ ।
विश्वभरि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले सन् १९७६ मा संयुक्त राष्ट्रसङ्घले सन्१९८१ लार्इ "पूर्ण सहभागिता र समता" भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय वर्षको रूपमा मनाउने घोषणा गर्यो ।

सन् १९८३ मा राष्ट्रसङ्घले अपाङ्गता भएका व्यक्तिहरूको अवसर समानीकरण, पुनर्स्थापना र रोकथाममा जोड दिँदै अपाङ्गतासम्बन्धी १० वर्षे विश्व कार्ययोजना पारित गरी लागू गर्यो र यसलाई विश्वभरि प्रभावकारीरूपमा कार्यान्वयन गराउन सन् १९८३ देखि १९९२ सम्मको अवधिलाई अन्तर्राष्ट्रिय अपाङ्गता दशकको रूपमा घोषणा गरियो । सन् १९९२ मा अपाङ्गतासम्बन्धी १० वर्षे विश्व कार्ययोजनाको कार्यान्वयन र उपलब्धिहरूको समीक्षा गर्दै त्यसै वर्षदेखि डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गरी विश्वभरि मनाउन थालियो ।
हरेक वर्ष यो दिवस एउटा मूल अन्तर्राष्ट्रिय नारा (Theme of the year) का साथ मनाउने गरिन्छ । नेपालमा पनि सन् १९९३ देखि विभिन्न कार्यक्रम गर्दै यो दिवस हरेक वर्ष मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसङ्घले यस वर्षका लागि दिगो विकासका १७ वटा लक्षमा अपाङ्गताको सवालको समावेशीकरणलाई मुख्यरूपमा जोड दिँदै अन्तर्राष्ट्रिय दिवसको नारा तय गरेको छ । यस वर्षको नारा अंग्रेजीमा "Achieving 17 goals for the future we want" रहेको छ भने यसलाई नेपालीमा "हासिल गरौँ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौँ हामीले चाहेको भविष्य" भन्ने अनुवाद गरिएको छ ।
समग्र विश्वको समतामूलक विकासका लागि संयुक्त राष्ट्रसङ्घले विभिन्न दीर्घकालीन कार्ययोजना र रणनीतिहरू लागू गर्दै आएको छ । यसैक्रममा सहस्राब्दी विकास लक्ष्यहरूको कार्यान्वयनपछि विश्वको दिगो विकासका लागि सन् २०१५ को सेप्टेम्बर २५ मा राष्ट्रसङ्घले सन् २०३० सम्ममा हासिल गर्न १७ वटा दिगो विकासका लक्ष्यहरू तय गरेको छ ।

मूल समारोह कार्यक्रममा सहभागीहरु

तस्विरः मूल समारोह कार्यक्रममा सहभागीहरु

दिगो विकासका १७ वटा लक्ष्यमध्ये ५ वटा यस्ता छन्, जसमा अपाङ्गतालाई विशेषरूपमा सम्बोधन गरिएको छ । बाँकी १२ वटा लक्ष्यमा पनि अपाङ्गता भएका व्यक्तिका सवालहरूले निकै महत्व राख्दछन् ।
विश्वव्यापी विकासका विभिन्न लक्ष्यहरूमा अपाङ्गताका सवालहरूलाई प्रत्यक्षरूपमा सम्बोधन गरिएको यो सम्भवत: पहिलो पटक हो । यसरी हेर्दा दिगो विकासका १७ वटै लक्ष्यले अपाङ्गता भएका व्यक्तिहरूका विभिन्न सवालसँग प्रत्यक्ष वा परोक्षरूपमा सम्बन्ध राख्छन् ।

सन् २०३० सम्ममा हासिल गरिने दिगो विकासका १७ वटा लक्ष्य यस्ता छन् :

  • लक्ष्य १ : संसारभरि सबै प्रकारका गरिबी अन्त्य गर्ने,
  • लक्ष्य २ : भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा हासिल गर्ने, पोषणमा सुधार गर्ने र दिगो कृषिलाई प्रवर्द्धन गर्ने,
  • लक्ष्य ३ : स्वस्थ जीवन सुनिश्चित गर्ने र सबै उमेरमा सबैका लागि हितकर जीवन प्रवर्द्धन गर्ने
  • लक्ष्य ४ : समावेशी र समतामूलक गुणस्तरीय शिक्षा र सबैका लागि जीवनपर्यन्त सिकाइका अवसरहरू सुनिश्चित गर्ने,
  • लक्ष्य ५ : लैङ्गिक समानता हासिल गर्ने र सबै महिला र किशोरीको सशक्तीकरण गर्ने,
  • लक्ष्य ६ : सबैका लागि पिउनेपानी तथा सरसफाइ र यसको दिगो व्यवस्थापन सुनिश्चित गर्ने,
  • लक्ष्य ७ : धान्नसक्ने, विश्वासिलो, दिगो र आधुनिक उर्जामा सबैको पहुँच सुनिश्चित गर्ने,
  • लक्ष्य ८ : सबैका लागि समावेशी, दिगो र फराकिलो आर्थिक वृद्धि हासिल गर्ने र उत्पादनमूलक रोजगारी र सम्मानपूर्ण कामलाई प्रवर्द्धन गर्ने ।
  • लक्ष्य ९ : बलियो पूर्वाधार निर्माण गर्ने, समावेशी र दिगो औद्योगीकरणलाई प्रवर्द्धन गर्ने र नवीनतम आविष्कारहरूलाई बढावा दिने,
  • लक्ष्य १० : देशभित्र र अन्य देशहरूसँगको असामानता न्यून गर्ने ।
  • लक्ष्य ११ : सहर र मानवबस्तीहरूलाई समावेशी, सुरक्षित, बलियो र दिगो बनाउने,
  • लक्ष्य १२ : दिगो उपभोग तथा उत्पादन ढाँचा सुनिश्चित गर्ने,
  • लक्ष्य १३ : जलवायु परिवर्तन र यसको असरसँग जुध्न तत्काल कदम चाल्ने,
  • लक्ष्य १४ : दिगो विकासका लागि सामुद्रिक स्रोतहरूको संरक्षण र दिगोरूपमा उपयोग गर्ने,
  • लक्ष्य १५ : स्थलीय पर्यावरण प्रणालीलाई संरक्षण, पुनर्प्राप्ति र प्रवर्द्धन गर्ने, वनजंगलको दिगोरूपमा व्यवस्थापन गर्ने, मरुभूमीकरणसँग जुध्ने, जमिनको गुणस्तरमा भएको गिरावट रोक्ने, जैविक विविधतामा भइरहेको नोक्सानी रोक्ने,
  • लक्ष्य १६ : दिगो विकासका लागि शान्तिपूर्ण र समावेशी समाज निर्माण गर्ने, सबैलाई न्यायमा पहुँच स्थापित गर्ने र सबै तहमा प्रभावकारी, जवावदेही र समावेशी संस्थाको निर्माण गर्ने,
  • लक्ष्य १७ : दिगो विकासका लागि कार्यान्वयनका साधनहरूलाई सबल गर्दै अन्तर्राष्ट्रिय साझेदारीलाई थप जोड दिने ।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.