प्रेस विज्ञप्ति
“अपाङ्गताको आधारमा गरिएका घृणाजन्य तथा अपमानजनक अभिव्यक्तिप्रति राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको गम्भीर ध्यानाकर्षण”
हालै सङ्घीय संसदमा सरकारले आ.ब.२०८३/८४ को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमा र बजेट माथिको छलफलमा माननीय सांसद श्री रमेश प्रसाईले व्यक्त गर्नुभएको धारणा तथा अभिव्यक्तिलाई आधार बनाई सामाजिक सञ्जालका विभिन्न माध्यममा उहाँको अपाङ्गतालाई लक्षित गरी गरिएका अपमानजनक र बदनियत रुपमा, अवहेलनापूर्ण, अमर्यादित तथा विभेदकारी टिप्पणीहरूप्रति राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपालको संविधानको धारा १६ ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरेको छ । त्यसैगरी धारा १७ ले विचार तथा अभिव्यक्तिको स्वतन्त्रताको प्रत्याभूति गरेको छ भने धारा २४ ले अपाङ्गता लगायत कुनै पनि आधारमा हुने भेदभावलाई निषेध गरेको छ ।
लोकतान्त्रिक परिपाटीमा प्रत्येक नागरिकलाई आफ्नो वैचारिक आस्थाका आधारमा कुनै पनि दल वा व्यक्तिको समर्थन वा विरोध गर्ने पूर्ण अधिकार रहन्छ । संसद् वा सार्वजनिक मञ्चहरूमा व्यक्त गरिएका विचारहरूमाथि फरक मत राख्नु, स्वस्थ आलोचना गर्नु र आफ्ना विमतिहरू प्रकट गर्नु लोकतन्त्रको सुन्दर अभ्यास र सुन्दर गहना हो भन्ने कुरामा महासंघ दृढ विश्वास राख्दछ, तर कसैले व्यक्त गरेको राजनीतिक वा वैचारिक दृष्टिकोणको प्रतिवाद गर्ने बहानामा निजको शारीरिक अवस्था वा अपाङ्गतालाई जोडेर सामाजिक सञ्जालमा हुर्मत लिने, होच्याउने, गिज्याउने र अमर्यादित शब्दहरूको प्रयोग गर्नु अत्यन्तै निन्दनीय र अक्षम्य कार्य हो । संविधान प्रदत्त मौलिक हकको पालना गर्नु प्रत्येक नेपाली नागरिकको दायित्व हो । यो केवल एकजना माननीय सांसदमाथिको व्यक्तिगत प्रहार मात्र नभई सिङ्गो अपाङ्गता भएको समुदायको आत्मसम्मान र मानवीय गरिमामाथि गरिएको निर्मम प्रहार हो ।
संयुक्त राष्ट्रसंघको अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि (UNCRPD) को पक्ष राष्ट्र हो । उक्त महासन्धिको धारा ५ ले अपाङ्गता भएका व्यक्तिहरूको समानता तथा गैर–भेदभावको अधिकार सुनिश्चित गरेको छ भने धारा ८ ले अपाङ्गताप्रतिको नकारात्मक सोच, पूर्वाग्रह, रूढीवादी धारणा तथा गलत अभ्यास अन्त्य गर्न राज्य र समाजको दायित्व स्पष्ट गरेको छ । त्यस्तै, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ ले अपाङ्गताको आधारमा हुने कुनै पनि प्रकारको भेदभावलाई निषेध गरेको छ र अपाङ्गता भएका व्यक्तिलाई अन्य व्यक्तिसरह समान आधारमा सबै अधिकारको उपभोग गर्न पाउने सुनिश्चितता गरेको छ ।
यस सन्दर्भमा सामाजिक सञ्जालमा अपाङ्गतालाई लक्षित गरी गरिएका अमर्यादित तथा अपमानजनक टिप्पणीहरू केवल एक व्यक्तिमाथिको आक्रमण नभई सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको सम्मान, मर्यादा र अधिकारमाथिको प्रहार भएको राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको ठहर छ । तसर्थ, अभिव्यक्तिको स्वतन्त्रताको नाममा कसैको अपाङ्गतालाई लिएर गरिने यस्ता अमर्यादित र अवान्छित टिप्पणीहरू सामाजिक सञ्जालबाट तत्काल हटाउन र डिजिटल सञ्चार माध्यमहरूलाई मर्यादित बनाउन महासंघ सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछ । साथै, सामाजिक सञ्जालमा यस्ता घृणास्पद अभिव्यक्ति फैलाउने र गैर कानुनी कार्य गर्ने व्यक्तिहरूलाई तत्काल कानुनी कठघरामा ल्याई कडा कारबाही गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गृह मन्त्रालय र सम्बन्धित सरोकारवाला निकायहरूसँग जोडदार माग गर्दछ ।
यदि हामीले समयमै यस्ता अवान्छित, अराजक र अमर्यादित गतिविधिहरू विरुद्ध कडा कदम नचाल्ने हो भने यसले आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक समावेशीकरण, राजनीतिक सहभागिता र सम्मानपूर्वक बाँच्न पाउने अधिकारमा गम्भीर अवरोध सिर्जना गर्ने र समाजमा गलत प्रवृत्तिलाई प्रश्रय दिने महासंघको ठहर छ । अपाङ्गता मैत्री, मर्यादित र सभ्य समाज निर्माणका लागि सबैमा हार्दिक आह्वान गर्दछौँ ।
…………
कुमार रेग्मी
महासचिव
मिति: २०८३ साल असार ५ गते

