प्रेस विज्ञप्ति
भोटेकोशी बाढी प्रभावित नागरिकको जीवनरक्षामा तत्काल पहल गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अपिल
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा तथा नुवाकोटलगायत आसपासका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित हुनुका साथै बस्ती, सडक, भौतिक संरचना तथा नागरिकको दैनिक जीवनमा गम्भीर असर परेको घटनाप्रति राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (NFDN) को गम्भीर ध्यानाकर्षण भएको छ ।
यस विषम परिस्थितिमा बाढी तथा पहिरोको जोखिममा रहेका सम्पूर्ण नागरिकको जीवनरक्षा, तत्काल उद्धार, सुरक्षित स्थानान्तरण, राहत तथा पुनःस्थापनालाई पहिलो प्राथमिकता दिन नेपाल सरकार, स्थानीय तह, सुरक्षा निकाय, मानवीय तथा विकास साझेदार संस्था र सम्बन्धित सबै पक्षसँग महासंघ हार्दिक अपिल गर्दछ।
विपद्को समयमा अपाङ्गता भएका व्यक्तिहरू, बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अन्य जोखिममा रहेका समुदायहरू अझ बढी प्रभावित हुन सक्ने भएकाले उद्धार, राहत, अस्थायी आश्रय, स्वास्थ्य सेवा, सूचना तथा सञ्चार र पुनःस्थापनाका सबै चरणमा अपाङ्गतामैत्री, समावेशी र पहुँचयुक्त व्यवस्था सुनिश्चित गर्न आवश्यक छ। विशेषगरी ह्वीलचेयर, बैसाखी, श्रवण उपकरण, दृष्टिसम्बन्धी सहायक सामग्री, नियमित औषधि तथा व्यक्तिगत सहयोग आवश्यक पर्ने व्यक्तिहरूलाई उद्धार तथा राहत वितरणमा प्राथमिकताका साथ सम्बोधन गर्न महासंघ सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदछ ।
महासंघ विपद् प्रभावित क्षेत्रमा रहेका अपाङ्गता भएका व्यक्तिहरू तथा उनीहरूका परिवारसम्म राहत, उद्धार र आवश्यक सेवाको पहुँच सुनिश्चित गर्न स्थानीय अपाङ्गता भएका व्यक्तिहरूका संस्था, स्थानीय सरकार, सुरक्षा निकाय र सरोकारवाला संस्थाबीच प्रभावकारी समन्वय गर्नसमेत आग्रह गर्दछ। विपद्को समयमा सूचना नै जीवनरक्षाको महत्वपूर्ण माध्यम भएकाले सबै सूचना तथा निर्देशनहरू सरल, स्पष्ट, समयमै र सबैका लागि पहुँचयुक्त ढाँचामा प्रवाह गर्न आवश्यक छ ।
यस कठिन घडीमा प्रभावित नागरिकको पीडालाई केवल तथ्याङ्कका रूपमा नभई मानवीय संवेदनासँग जोडेर हेर्न महासंघ सबैमा आग्रह गर्दछ। एक नागरिकको जीवन बचाउनु, एक परिवारलाई सुरक्षित स्थानमा पुर्याउनु र एक अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सहयोग उपलब्ध गराउनु नै यस समयमा हाम्रो साझा मानवीय दायित्व हो।
महासंघले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि परिचालित नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्यकर्मी, स्वयंसेवक, नागरिक समाज तथा सहयोगी सबैप्रति धन्यवाद व्यक्त गर्दै उद्धार तथा राहत कार्यलाई अझ तीव्र, समन्वित, पारदर्शी र समावेशी बनाउन आग्रह गर्दछ।
साथै, जोखिममा रहेका नागरिकहरूलाई आधिकारिक सूचना र सम्बन्धित निकायको निर्देशन पालना गर्न तथा अनावश्यक जोखिम नलिन महासंघ अनुरोध गर्दछ। आपत्कालीन अवस्थामा APF १११४, नेपाल प्रहरी १००, एम्बुलेन्स १०२ र DEOC १२३४ मा सम्पर्क गर्न सकिनेछ ।
महासचिव अध्यक्ष
कुमार रेग्मी देवीदत्त आचार्य
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (NFDN)

