लोकसेवा आयोगको विज्ञापन समावेशी बनाउन संयुक्त राष्ट्रिय आन्दोलन

२०७६ जेष्ठ २६ जेष्ठ गते काठमाडौंमा लोकसेवा आयोगको विज्ञापन समावेशी बनाउन राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, राष्ट्रिय दलित महासंघ नेपाल, संयुक्त विद्यार्थी समिति, गैर सरकारी जनजाती महासंघको संयुक्त आयोजनामा “समावेशीता बचाउ राष्ट्रिय आन्दोलन” गरेको छ । मिति २०७६ जेष्ठ १५ गते लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन नेपालको सविधान २०७२ र निजामति सेवा ऐन २०४९ को भावना प्रतिकुल रहेको, अपाङ्गता भएका ब्यक्ति, दलित, आदीवासी जनजाती, मधेसीसमुदायको आरक्षणका लागि प्राप्त नीतिगत ब्यवस्थाको बर्खिलाप गरि सिमान्तकृत वर्ग समुदायको अधिकार खोसिएको छ । संयुक्त रुपमा आयोजना गरिएको “समावेशीता बचाउ राष्ट्रिय आन्दोलन” लाई राष्ट्रिय सभा सदस्य माननीय प्रकाश पन्तले सम्बोधन गर्दै लोकसेवाको विज्ञापनमा संविधानको भावना विपरित आरक्षण हटाइएको छ । त्यसैले यो आन्दोलनमा एक्यबद्धता जनाउदै भोलि सदनमा पनि आवाज उठाउने बताउनु भयो ।

धर्ना समापनको सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव राजु बस्नेतले राष्ट्रले समावेशी चरित्रको संविधान प्राप्त गरेकोले २०७२ पछि समावेशीताको लागि फेरी आन्दोलन गर्न पर्दैन होला, सरकारले नीति निर्माण र सहभागीतामा समावेशीताको ख्याल पुर्याउनेछ भन्ने लागेको थियो । तर त्यस्तो रहेन दिनप्रतिदिन अपाङ्गता भएका ब्यक्ति महिला मधेसी आदीवासी जनजाती पिछडीएको क्षेत्र समुदायले त्यसको अनुभूति गर्नुको सट्टा भएका अधिकारको बचाउ गर्नु पर्ने बेला आएको छ । यो हाम्रो रहर हैन हामी दुइ वर्षमा नै सरकारलाई नीतिगत ब्यवस्थाको कार्यान्वयनका लागि सम्झाउन सडकमा उत्रिन बाध्य भएका हौ भन्ने विचार राख्नु भएको थियो । महासंघका उपाध्यक्ष रमा ढकालले जबसम्म लोकसेवा आयोगले विज्ञापन सच्याएर हाम्रो अधिकार सुनिश्चित गर्दैन तवसम्म आन्दोलन जारी रहने कुरा बताउदै सहभागी सबैलाई राष्ट्रिय अपाङ्ग महासंघ र संयुक्त मोर्चाको तर्फबाट धन्यबाद दिदै कार्यक्रमको विसर्जन गर्नु भएको थियो ।

