महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा ध्यानाकर्षण पत्र

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष मित्रलाल शर्माको नेतृत्वमा गएको टोलीले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय थममाया थापालाई भेटी सरकारको आ.व ०७६/०७७ को नीति तथा कार्यक्रममा समेटनुपर्ने सवालहरुको २२ शुत्रिय ध्यानाकर्षण पत्र बुझाएको छ । २२ शुत्रिय ध्यानाकर्षण पत्रका अतिरिक्त अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुलाई शसर्त अनुदान, अपाङ्गता सम्बन्धी दश वर्षे नीति तथा कार्ययोजना, निजामाती सेवामा अपाङ्गता भएका ब्यक्तिको साविकको आरक्षणको रक्षा, अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्तामा बृद्धि, अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी निमयावली, ब्यक्तिगत सहयोगी सेवा, हिंसा प्रभावित अपाङ्गता भएका महिलाहरुको सुरक्षित आवास, सहायक सामग्री उत्पादन वितरण र नियमन सम्बन्धी निर्देशिका, एन्टि हेमोफेलिक फ्याक्टरको उपलब्धता, अपाङ्गताका सवालमा अन्तर मन्त्रालय समन्वय जस्ता सवालहरु समेत सहभागीबाट मन्त्री ज्यूलाई अवगत गराइएको थियो ।

उक्त अवसरमा मन्त्री ज्यूले राष्ट्रिय अपाङ्ग महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष पदाधिकारी लगायत सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै महासंघले राखेका सवालहरु प्रति सकरात्मक रहेको कुरा बताउनु भएको थियो । निजामती सेवाको आरक्षणको बिषयलाई गम्भिर ढंगले लिएको सामाजिक सुरक्षा भत्ताको विषयमा अर्थ मन्त्रीसँग सम्बाद भइरहेको, अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्थाहरुलाई उपलब्ध गराउदै आएको शसर्त अनुदानको दायरा बढाउन प्रयत्न गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी नियमावली अन्तिम चरणमा पुगेको चाडै मन्त्रीपरिषदबाट पारित हुने बताउनु भयो ।

