अपाङ्गता अधिकार ऐन २०७४ को विषयमा अभिमुखीकारण कार्यक्रम सम्पन्न
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना, सुदुरपश्चिम प्रदेश समितिको समन्वय र डी.पी.ओ.डी. डेनमार्कको सहयोगमा प्रदेश सरकारका प्रतिनिधिहरूलाइ अपाङ्गता अधिकार सम्बन्धी ऐन २०७४ को विषयमा अभिमुखीकरण गराउने उद्धेश्यले सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा मिति २०७६ साल आश्विन १३ गते (सेप्टेम्वर ३०, २०१९) आधा दिनको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो ।
२०७४ सालमा संसदबाट पारित भएको अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ ले गरेका व्यवस्थाहरू र यसको कार्यान्वयनमा प्रदेश सरकारको भूमिकाको वारेमा जानकारी गराउन यो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा अतिथिको रूपमा धनगढी उपमहानगरपालिकाका उपमेयर श्री शुसीला भट्ट (मिश्र) को उपस्थिति रहेको थियो ।
कार्यक्रमका सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालय, मुख्य मन्त्रिको कार्यालय, शिक्षा मन्त्रालय लगायत विभिन्न सात मन्त्रालयका प्रतिनिधिहरू, युएनडिपीका प्रतिनिधि, युनिसेफका प्रतिनिधि, पत्रकारमहासंघ, युएनएफपीएका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । ३४ जना प्रतिनिधि उपस्थित रहेको उक्त कार्यक्रमको मुख्य प्रशिक्षकको भूमिकामा शिक्षा मानव संसाधन विकास केन्द्र, शिक्षा मन्त्रालयका उप सचिव श्री टंक गौतम हुनुहुन्थ्यो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष श्री मित्रलाल शर्माले संचालन गर्नुभएको कार्यक्रममा प्रशिक्षकले अपाङ्गता अधिकार ऐनमा भएका व्यवस्थाहरू, अपाङ्गताको परिभाषा र वर्गीकरण, परिचयपत्रको व्यवस्था, दण्ड सजायको व्यवस्था र अपाङ्गता भएका व्यक्तिका अधिकारहरूको बारेमा व्याख्या गर्नुका साथै केही समय समावेशी शिक्षा नीति र हाल नेपाल सरकारले अपाङ्गता भएका बालबालिकाहरूको समावेशी शिक्षाको लागि गर्दै आएका कामहरूको बारेमा छलफल गर्नुभएको थियो ।


